logo
२०८१ मंसिर ९ आईतवार

....जनप्रतिनिधिको उदाहरणीय कार्य....



ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँंदै वडाध्यक्ष

समाज |


ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँंदै वडाध्यक्ष
गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्षसहित ज्येष्ठ नागरिक तीर्थयात्राका लागि काठमाडौँ जाँदै । तस्बिर : दिवाकर पोख्रेल



देउखुरी समाचारदाता

देउखुरी, पुस १० गते । दाङका स्थानीय सरकारले ज्येष्ठ नागरिकमैत्री काम गर्न थालेका छन् । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत आर्थिक रूपले विपन्नलाई न्यानो कपडा वितरण, दिवा सेवा केन्द्र स्थापनादेखि तीर्थयात्रासम्मको काम गरेर जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मन जित्ने प्रयास गरिरहेका छन् ।
दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले आफ्नो वडाका ज्येष्ठ नागरिकलाई लिएर पशुपति दर्शनको यात्रामा निस्किनुभएको छ । वडाध्यक्ष भण्डारीले वडाका ७० वर्षभन्दा माथिका ६५ जना ज्येष्ठ नागरिकलाई लिएर तीन दिने तीर्थयात्राका लागि काठमाडौँ लाग्नुभएको हो ।
वडाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत एक लाख ६० हजार रुपियाँको बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप काठमाडौँको यात्रा तय गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । विशेषगरी ज्येष्ठ नागरिकले पशुपतिनाथ, स्वयम्भूनाथ लगायतका धार्मिकस्थलको दर्शन गर्ने चासो देखाएपछि ज्येष्ठ नागरिकलाई तीर्थ लगिएको उहाँले बताउनुभयो ।
तीर्थयात्रामा जान पाउँदा ज्येष्ठ नागरिक खुसी भएका छन् । गढवा–५ बाँकी निवासी ७२ वर्षीय दानी परियारले पहिलोपटक पशुपतिनाथको दर्शन गर्न जान पाएकामा खुसी व्यक्त गर्नुभयो । पशुपतिनाथको दर्शन गर्ने ठूलो धोकोलाई वडा कार्यालयले पूरा गराइदिएको परियारले बताउनुभयो ।
स्थानीय अर्का रामकुवेर यादवले जनप्रतिनिधि आफ्ना सन्तान भएर निस्किएको भन्दै आफ्नो आशीष लाग्ने बताउनुभयो ।
गत आर्थिक वर्षमा लमही नगरपालिका वडा नम्बर ५ ले पनि वडाका ज्येष्ठ नागरिकलाई जिल्लाका धार्मिक क्षेत्रको अवलोकन तथा तीर्थाटन गराएको थियो । वडाध्यक्ष बीमबहादुर केसीले मातातीर्थ आंैंँसीको अवसर पारेर दाङको धारापानी तीर्थ गराउनुभएको थियो । उहाँको कार्यबाट प्रभावित भएर यस आर्थिक वर्षमा अन्य वडा कार्यालयले पनि ‘ज्येष्ठ नागरिक तीर्थ कार्यक्रम’ योजनामा समावेश गराएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?