logo
२०८१ मंसिर १० सोमवार



मगर भाषाको अनलाइन शब्दकोष सार्वजनिक

समाज |


मगर भाषाको अनलाइन शब्दकोष सार्वजनिक



गोरखापत्र समाचारदाता
काठमाडौं, पुस १७ गते । नेपाल मगर संघ, यू.एस. नेपाल सोलुसन्स प्रालि र नेपाल मगर लेखक संघको पहलमा तयार बनाइएका मगर खाम÷पाङ, मगर काइके र मगर ढुट गरी तीनवटा भाषाको अनलाइनमा आधारित शब्दकोष सार्वजनिक गरिएको छ । ती कोषमा मगर ढुट शब्दकोष, मगर खाम÷पाङ शब्दकोष र मगर काइके शब्दकोष छन् ।
विद्युतीय प्रविधिमा तयार पारिएका शब्दकोषको निर्माणबाट मगर भाषाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने जानकारी मगर संघका अध्यक्ष नबीन रोका मगरले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘तीन वटै मगर भाषाका शब्दकोषलाई मगर संघको मगर घरमा सार्वजनिक गरेका छौं ।’’
शब्द कोषमा नयाँ नयाँ शब्दको खोजी गरी निरन्तर थप्न सकिने प्रविधिको व्यवस्था गरिएको छ । यसले गर्दा मगर भाषाको विकास र शब्दहरूको खोजी गर्न सहयोग पुग्ने छ । काइके भाषालाई नेपाल भाषा आयोगको अध्ययनमा लोपोन्मुख भाषाको सूचीमा राखेको छ । काइके भाषाको नयाँ अनलाइनमा आधारित यो पहिलो शब्दकोष भएको हो भनाइ संघको छ ।
संयुक्त राष्ट्रले सन् २०१९ लाई आदिवासी भाषाहरूको वर्षको रूपमा घोषणा गरेको थियो । शब्द कोष बनाउनुको मुख्य उद्देश्य भनेको भाषाको संरक्षण, विकास र सम्बद्र्धन गर्नु रहेको जानकारी यू.एस. नेपाल सोलुसन्सका अध्यक्ष अर्पण बमले दिनुभयो । शब्द कोषको प्राविधिक पक्ष र एप्सको निर्माण निःशुल्क रुपमा यू.एस. नेपाल सोलुसन्सले बनाएको छ ।
देश तथा विदेशमा रहेका मगरभाषा प्रेमीहरूले इन्टरनेटको पहुँच भएका सबै स्थानमा बसेर यो शब्दकोष प्रयोग गर्न सक्नु हुनेछ । सोलुसन्सका महासचिव बालकृष्ण पुनका अनुसार, मगर डिक्सनेरी डटकममा गएर विस्तृत विवरण हेर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?