चाँदनी हमाल
काठमाडौँ, पुस १९ गते । ज्यालादारी काम गर्दै सडकमा जीवन बिताउँदै गर्दा कर्णबहादुर मगरको भेट सुनिता साहसँग भयो । पशुपति मन्दिरमा सानैदेखि मागेर जीवन बिताउने क्रममा कर्णबहादुर मगरसँग भेट हुँदा साहलाई आफन्त भेटे झैँ लाग्यो ।
सडकमा बस्नुपर्ने दुवैको पीडा उस्तै । अभाव र गरिबीको राप पनि दुवैको उस्तै । त्यसैले मन मिल्यो । सँगै जीवन बिताउने सपनासहित एक महिनाअघि पशुपतिनाथलाई साक्षी राखेर उहाँहरूले बिहे गर्नुभयो । काठमाडौँका यति धेरै घरमध्ये एउटा घरमा कोठा खोजेर घरजम गर्ने सुर थियो । कर्णबहादुरले पैसाले पुग्दै पुगेन एक दिन कमाएको पैसा जम्मा गरेर घरजम गर्नु निकै गाह्रो भयो भन्नुभयो । त्यसैले केही महिना सडकमै बसेर दुवैले पैसा जोगाउने अनि कोठामा बस्ने निधो गर्नुभयो ।
तर कोठा बस्न नपाउँदै बिहीबार राति प्रहरीको टोलीले उहाँहरू दुवैलाई सडकबाट उठाएर महानगर प्रहरी परिसर पु¥यायो । सडकबाट उद्धार गरेर मानव सेवा आश्रम पठाउने बेला सुनिता निकै रुनुभयो । “हामीलाई नलैजानूस् हामी नजाने, अबदेखि मन्दिरमा बस्दैनाँै, छाडदिनूस,” उहाँले आँसु खसाल्दै भन्नुभयो ।
उहाँका श्रीमान् कर्णबहादुरले पनि आफूहरूलाई आश्रममा नलैजान आग्रह गर्नुभयो । घरको ढलान गर्ने ज्याला मजदुरी गर्दा एकैचोटि धेरै पैसा जम्मा गर्न नसकेकैले घरमा बस्न नसकेको भन्दै उहाँले गुहार लगाउनुभयो । कर्णबहादुरले खाट, ग्यास चुलो, भाँडाकुँडा, खानेकुरा सबै किन्नुप¥यो, कसरी जोड्नु, त्यसैले भर्खरै कोठामा बस्न सकेनाँै भन्दै आफ्नो दुःख बताउनुभयो ।
सुनिताले रुँदै गाडी चढ्न नमानेपछि पहिले गौशाला सडकमै बस्ने अरसद साहले आफूले लगाएको टोपी र मास्क खोल्नुभयो । तपाईँलाई म चिन्छु, त्यही सडकमा बस्थेँ हेर्नुस् मलाई, १५ वर्षीया साहले मुस्काउँदै आश्रममा केही गर्दैनन्, तातो भात खान दिन्छन्, न्यानो सिरक र डस्ना पनि दिन्छन्, जाऊँ उतै भन्नुभयो ।
उहाँलाई चिनेपछि सुनिताको आँसु थामियो । ठूलै ढाडस पाएजस्तै भो उहाँलाई । भर्खर बिहे गरेको जोडीलाई कतै लगेर छुटाउलान् वा केही गर्लान् भन्ने चिन्ता पनि हरायो । फकाउँदै कर्णबहादुरले ल–ल अब हिँड दुवैलाई पाल्छ भने जाऊँ भन्दै सुनितालाई गाडीतर्फ डोहो¥याउनुभयो ।
अरसदका अनुसार यसरी सडकमा बस्ने उहाँजस्तै अझै १०–११ बालबालिका छन् । आश्रमको गाडी आउने थाहा पाएपछि उनीहरू पहिल्यै भाग्ने गर्छन् । आफूले फकाएर सँगै ल्याउन मद्दत गर्ने उहाँले बताउनुभयो । उहाँले सडकमा उद्धार गर्न आउँदा आफूले सडकमा धेरै दिन खान नपाएको, दुःख पाएको याद आउँछ । अहिले भने म आश्रममा बूढा बुबाआमाको सेवा गर्न दाइदिदीलाई सघाउँछु भन्नुभयो । भविष्यमा पढेर सेवासँगै अगाडि बढ्ने सपना पाल्नुभएको छ । उहाँ जस्तै सर्लाहीका सुवास कार्की काठमाडौँको इन्द्रचोकको सडकबाट उठाइनुभएको हो ।
उहाँले काठमाडौँ घुम्न आएका बेला रात परेपछि सडकमै सुत्दा आश्रम पुगेँ भनेर थप्नुभयो । त्यहाँ पुगेपछि छुट्टै संसार देखेँ, अहिले आफँै उद्धारमा हिँड्छु अनि सेवा गर्छु भन्नुभयो । पहिले प्रहरीको जागिरसमेत गर्नुभएका उहाँ बिहीबार आफूले काम गरेकै प्रहरी परिसर पुग्दा भावुक हुनुभयो । त्यस्तै कारण परेर जागिर छाडेँ । जागिर छाडेपछि श्रीमती छोराछोरी बोकेर माइत जानुभयो । एक्लै परेपछि भौँतारिएको जीवनले अब आश्रमबाटै नयाँ जीवनको सुरुवात गरेको उहाँ बताउनुहुन्छ ।
उहाँसँगै सिन्धुलीका दीपक तामाङलाई वीर अस्पताल अगाडिबाट उद्धार गरिएको थियो । साथीको सहयोगमा काठमाडौँ बस्दै गर्दा कहिले सडक कहिले साथीको कोठामा उहाँको बास हुन्थ्यो । आश्रम पुगेपछि भने दैनिकी फेरिएको छ । सरसफाइसँगै आश्रमका स्वयंसेवीलाई सघाउँदा उहाँको मुहारमा खुसी छाउने गरेको छ ।
चितवनका नवराज खतिवडा काठमाडौँका सवारी साधनमा सहायक बनेर आफ्नो खानपिनको जोहो गर्नुहुन्थ्यो । सडकमै सुत्ने क्रममा उद्धार गरेर बालाजुस्थित स्क्रिनिङ सेन्टरमा पुगेपछि उहाँको काम फेरियो । उहाँले उद्धार गरेर ल्याएका बूढा आमाबाको नङ काट्छु, कपाल काट्छु, नुहाएर सफा बनाएर घाममा राख्छु, यस्तो काम गर्दा छुुट्टै आनन्द आउने रहेछ भन्नुभयो ।
उहाँहरू जस्तै सडकमा सधँै रक्सी पिएर आफ्नो आम्दानी सक्ने करिब ६ जनाले जागिर नै पाएका छन् । कसैले खाना पकाउने, कसैले सरसफाइ गर्ने, कसैले उद्धारमा सघाउने र व्यवस्थापन गर्ने काम पाएका छन् । बाहिर काम गर्न रहर गर्नेका लागि भने संयोजक निकाय काठमाडौँ महानगरपालिकाको सहयोगमा कामको खोजी भइरहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
बिहीबार काठमाडौँ प्रहरी परिसरका डीआईजी विश्वराज पोखरेलको सक्रियतामा उद्धार गरी सडक मानवलाई आश्रम पु¥याइएको छ । गौशालाबाट १८, हनुमानढोका दरबार क्षेत्रबाट एक, महाराजगञ्जबाट दुई, सिंहदरबार क्षेत्रबाट एक, बानेश्वरबाट चार, दरबारमार्गबाट दुई, कीर्तिपुरबाट तीन जनासहित ३८ जनाको उद्धार गरिएको थियो । उद्धारमा खटिनुभएका आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सडकमा मानवले दुःख नपाऊन्, कोही भोको नरहून् भन्ने इच्छा राख्दा पनि दिन आउनुपर्नेरहेछ, आज त्यो दिन आएको छ, अब कसैले चिसो सडकमा बाँच्नु पर्दैन भन्नुभयो । हालसम्म चार सयभन्दा बढीको उद्धार भइसकेको छ भने डेढ सयभन्दा बढीको परिवारमा पुनर्मिलन गराइएको छ ।