logo
२०८१ मंसिर ९ आईतवार



स्वास्थ्य सेवाको दुर्दशा अत्याधुनिक भवन छ तर चिकित्सक छैनन्

समाज |


स्वास्थ्य सेवाको दुर्दशा अत्याधुनिक भवन छ तर चिकित्सक छैनन्


सिराजुद्दिन खान

नेपालगञ्ज, पुस २० गते । बाँकेको सबैभन्दा दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर गाउँपालिकामा अत्याधुनिक अस्पताल भवन निर्माण गरेर राम्रा स्वास्थ्य उपकरण समेत भित्रिए पनि चिकित्सक नहुँदा स्थानीयले भरपर्दो उपचार पाउन सकेका छैनन् ।

सहरी विकास मन्त्रालयले नरैनापुर २ लक्ष्मणपुरमा दुई तले अत्याधुनिक अस्पताल भवन निर्माण गरेर सञ्चालनमा ल्याएको हुँदा त्यहाँ कतार च्यारेटीले १५ लाख रुपैयाँका स्वास्थ्य उपकरणहरु समेत उपलब्ध  गराएको छ । तर, सो अत्याधुनिक भवन निर्माणसँगै राम्रा उपकरण पुगेपनि लामो समयदेखि दरबन्दी अनुसारको चिकित्सक र स्टाफ नर्स त्यहाँ नहुँदा अधिकांश स्थानीय उपचारबाट बन्चित छन् ।

जिल्ला सदरमुकामबाट निकै टाढा र दुर्गममा रहेको सो अस्पतालका लागि दरबन्दी अनुसारको मेडिकल अधिकृत र स्टाफ नर्स पठाउन पटक पटक सम्बन्धित निकायमा पत्राचार गरिएपनि कुनै सुनुवाई नभएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँले यो अस्पतालमा एकजना मेडिकल अधिकृत र स्टाफनर्सको दरबन्दी भएपनि लामो समयदेखि उनिहरु नहुँदा हेल्थ असिस्टेन्ट र अहेवको भरमा अस्पताल सञ्चालन भैरहेको बताउनुभयो ।

सो अस्पतालमा दैनिक सयजना भन्दा बढी विरामी आउने गरेपनि चिकित्सक नहुँदा भरपर्दो उपचार नपाएपछि उपचारका लागि नजिकको भारतीय बस्तीमा जान बाध्य भएको अध्यक्ष शाहले बताउनु भयो । अस्पताल भवन बनेपछि अन्तराष्ट्रिय गैर सरकारी संस्था कतार च्यारेटीले भिडियो एकसरे मेशिन, आठवटा फोल्डिङ्ग शैया, दुईवटा प्रसुती शैया, पाँच वटा ह्विल चेयर र पाँच वटा बिरामी ओसार्ने स्ट्रेचर प्रदान गरेको छ ।

भिडियो एक्सरे चलाउने प्राविधिक नहुँदा सो एक्सरे समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले नरैनापुर अस्पतालमा चिकित्सक र स्टाफ नर्स पठाउन धेरै पटक स्वास्थ्य मन्त्रालय र विभागलाई पत्राचार गरिएपनि कुनै वास्ता नगरेको गुनासो गर्नुभयो । सोही क्षेत्रका स्थानीय वासिन्दा समेत रहनु भएका प्रमुख श्रीवास्तवले चिकित्सक नहुँदा यस क्षेत्रका सयौं जनता उपचारबाट बन्चित मात्र नभई झोले चिकित्सकहरुसंग उपचार गराउन बाध्य भएको बताउनु भयो ।
केही समय अघि मात्र भारतीय झोले चिकित्सकका कारण सो क्षेत्रका दुई जनाको ज्यान गएको थियो ।

नरैनापुर २ मा रहेको सो अत्याधुनिक अस्पताल भवनको गत भदौ २७ गते तत्कालिन सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो । भवन बनेर उपकरण समेत आएपनि दक्ष जनशक्तिको अभावले प्रभावकारी सेवा दिन नसकिएको सो अस्पतालका अहेव सहाबुद्दीन खानले बताउनुभयो । दरबन्दी रहेपनि मेडिकल अधिकृत र स्टाफ नर्स नहुँदा सर्वसाधारणले स्तरीय उपचार पाउन नसकेको सर्वसाधारणको गुनासो छ ।

लामो समयदेखि मेडिकल अधिकृत नहुँदा हेल्थ असिस्टेन्ट र अहेवको भरमा स्वास्थ्य केन्द्र सञ्चालन गर्नु परेको जनाउँदै नरैनापुर २ का स्थानीय अगुवा रिजवान अहमद शाहले तत्काल दरबन्दी अनुसारको जनशक्ति पठाउन सरकारसंग आग्रह गर्नुभयो । अहिले सो स्वास्थ्य केन्द्रमा १ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेव, ३ जना अनमि र एकजना ल्याब टेक्निसियन कार्यरत रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?