अमरराज नहर्की
तनहुँ, पुस २१ गते । जङ्गलमा बस्ने चितुवा वस्तिमा आएर मान्छेलाई आक्रमण गर्ने कार्यलाई यहाँ नियन्त्रण गर्न सकिएको छैन । एक साताको अवधिमा शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकामागरी दुईजना बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । भानु नगरपालिकामा डेढ वर्षको अवधिमा छ जनाको मृत्यु भईसकेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका– १ रानागाउँ निवासी ८ वर्षीय पुजन सिंजालीको आइतबार साँझ चितुवाको आक्रमणमा परी मृत्यु भएको छ ।
एक्कासी घरबाट हराएपछि ती बालकको खोजी गर्दा घरदेखि २ सय मिटर तल खरबारीमा बालक सिंजाली मृत अवस्थामा फेला परेको घटना स्थल पुग्नु भएका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । हराएको १ घण्टा पछि बालकको शव फेला परेको उहाँले जानकारी दिनुभयो । चितुवाले घाटीमा आक्रमण गरेकाले बालकको घटना स्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । ती बालक सोही ठाउँको सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा पढ्दै आएका थिए । एक साता अघि मात्रै शुक्लागण्डकी नगरपालिका –३ मा चितुवाको आक्रमणमा एक बालकको मृत्यु भएको थियोे डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
तनहुँकै भानु नगरपालिकामा नरभक्षी चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाले ज्यान गुमाइ सकेका छन भने ५ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । पटक/पटक चितुवा वस्तीमा आउने र मान्छेलाई आक्रमण गर्न थालेपछि त्रास फैलिएको शुक्लागण्डकी नगरपालिका– ३ रातमाटाका वासिन्दाले बताएका छन् । पुस १३ गते २२ महिने रविन नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको र घटना दोहोरिन सक्ने भएकाले आफुहरुलाई सुरक्षा प्रदान गर्नुपर्ने यहाँका स्थानीयको माग छ । घरको पिढीमा खाना खाएर बसेका बालक रविन नेपालीको गत सोमबार चितुवाको आक्रमणमा मृत्यु भएको थियो । सो ठाउँकी सुनिता खत्रीले पुनः घरकै आगनमा चितुवा आएको बताउनुभयो । ‘रिचार्ज किनेर घर फर्कदै थिए, आगन वरिपरि नै चिुतवा हिडिरहेको देखे,’ उहाँले भन्नुभयो ।
फोन गरेर गाउँलेलाई बोलाएपछि भाग्यो । पटपटक चितुवा आउदा बालबालीका र महिलाहरुलाई दैनिक काममा बाधा पुगेको छ ।’ अर्की स्थानीय फुलमाया नेपालीले चितुवको आक्रमण भएपछि ५ बजेनै खाना खाएर सुत्ने बताउनुभायो । ‘हामी त साँझै सुरक्षित तरिकाले घरमै बसौला,’ उनले थपिन,’ ‘तर स्कुल जाने बालबच्चाहरुको सुरक्षा कसरी गर्ने, नपठाउँ भनेपनि अहिले परिक्षा चलिरहेको छ ।’ सो क्षेत्रबाट करिव विहान ५ बजे उठेर अध्ययनका लागि जङ्गलको बाटो हुदै दुलेगौंडा आउने गरेको नेपालीले बताउनुभयो उनले रातभार सुत्न नपाएको बताउनुभयो । घटनाबारे जानकारी लिन पुग्नुभएकी गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालालाई उनीहरुले जतिसक्दो चितुवा नियन्त्रणमा लिएर सुरक्षित वातावरण बनाउन पहल कदमी भईरहेको बताउनुभयो । शुक्लागण्डकी नगरपालिका वडा नं. ३ का अध्यक्ष रामकुमार श्रेष्ठले विभिन्न स्थानमा खोर बनाई चितुवालाई नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।
आइतबार बेपत्ता भएका बालक रविन नेपालीको शव क्षतविक्षत अवस्थामा करिव १ किलोमिटर परको ढाङढुङ्गे ठूलोपाखा तीन पोखरी सामुदायिक वनमा फेला परेको थियो । भोलीपल्ट नै बाख्रासहित पासो सोही जङ्गलको छेउमा राखिएको छ । गण्डकी प्रदेश सरकाले चितुवाको विगविगी नियन्त्रण गर्नको लागि केही समय अघि ३० लाख रुपैयाँ दिने निर्णय गरेको उक्त रकम छिटो निकासा गर्नको लागि आर्थिक तथा योजना मन्त्रालयलाई आईतबार पत्रचार गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख बरालले जानकारी दिनुभयो । नरभक्षी चितुवा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले गोली हान्ने आदेश दिईसकेको उहाँले जानकारी दिनुभयो । चितुवाबाट प्रभावित सबै ठाउँमा बाख्रा सहितको खोर थाप्ने, सुरक्षाकर्मी तथा स्थानीय शिकारी पनि परिचालन भईरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।