logo
२०८१ मंसिर ९ आईतवार



विराटनगरमा ‘अप्रेशन ट्रयाप’

समाज |


विराटनगरमा ‘अप्रेशन ट्रयाप’


नवराज कट्टेल

विराटनगर, पुस २३ गते । मोरङ प्रहरीले अपराधका घटनालाई न्यूनीकरण गर्न विराटनगर महानगरपालिका क्षेत्र भित्र ‘अप्रेशन ट्रयाप’ अभियानको सुरुवात गरेको छ । विराटनगर महानगर क्षेत्र भित्र एकै पटक १९ स्थानमा ‘ अप्रेशन ट्रयाप’ अभियान सञ्चालनमा ल्याइएको हो ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले अप्रेशनका क्रममा कागजात बिनाको सवारी नियन्त्रणमा लिने र शंकास्पद व्यक्तिलाई निगरानीमा राखिएको बताउनुभयो । पछिल्लो एक महिनामा भित्रमा यो अभियानबाट ३७८ सवारी साधन र एकहजार ८६१ जना व्यक्ति अनुसन्धानका लागि नियन्त्रणमा परेका छन् । जसमध्ये १२ वटा सवारी साधन अझै नियन्त्रणमा रहेका छन् । प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनको प्रमाणित कागजात बुझाएपछि मात्रै फिर्ता गरिदैं आएको छ । कागजात लिएर नआउने सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रयोगकर्तालाई निगरानीमा राख्ने गरेको छ ।

अवैध सवारी साधनबाट हुनसक्ने अपराधलाई न्यूनीकरणका लागि यो अभियान सञ्चालनमा ल्याउनु परेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ । भारतीय मोटरसाइलकमा नेपाली नम्बर राखेर अपराधका घटनामा संलग्न हुनेको संख्या धेरै पाइएपछि अभियान सञ्चालनमा ल्याएर अवैध सवारी नियन्त्रणमा लिन थालिएको हो ।

प्रहरीले पूर्व सूचना बिना आकस्मिक रुपमा एकै पटक १९ स्थानमा यो अभियानलाई एकसाथ सुरुवात र अन्त्य गर्दै आएको छ । शंकास्पद अवस्थामा कुनैपनि सवारी वा व्यक्ति देखिएमा तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालिने गरिएको छ । जसका कारण संभावित अपराध नियन्त्रणमा सहज हुने दावी प्रहरीको छ ।

विराटनगरमा मोवाइल तथा मोटरसाइकल चोरीका घटनाले हैरानी पारेको प्रहरीले यहि अभियानमार्फत ७५ मोवाइल र २२ मोटरसाइकल समेत सम्बन्धित धनीलाई फिर्ता गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा मात्रै जिल्लाका विभिन्न स्थानबाट ४१ मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा दर्ता भएका छन् । चोरी भएका मोटरसाइकल तत्काल सीमा कटाउने गरिएका कारण भेटाउन मुस्किल पर्दछ । प्रहरीले चोरिएका नेपाली वस्तु सीमा कटाउन नदिनका लागि उजुरी पर्नासाथ अप्रेशन ट्रयाप अभियान सुरुवात गर्ने गरेको छ । मोटरसाइकल र मोवाइल हराएको उजुरी प्राप्त हुनासाथ सुरु गरिने अप्रेशन ट्रयापले संलग्न व्यक्तिलाई सीमापार हुनबाट रोक्दछ । अप्रेशन ट्रयाककै कारण मंगलबार र बुधबार चोरीका दुईवटा मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

मोटरसाइकल लिएर भाग्दै गरेका व्यक्तिले सीमा कटाउन नपाउने गरि राखिएको चेकिङका कारण छोडेर भागेको प्रहरी उपरीक्षक अधिकारीको दावी छ । चारैतर्फका नाका बन्द गरेर अपरेशन ट्रयाप अभियान सुरु गरेपछि एउटा मोटरसाइकल नोबेल मेडिकल कलेज अगाडीको नहरमा र अर्को भारतीय सीमा नजिकै जतुवामा फेला पारिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?