होमराज रानाभाट
गैंडाकोट माघ १ गते । पूर्वी नवलपरासीको गैंडाकोट त्यो पनि चितवनको नारायणगढसँग सिमा जोडिएको ठाउँ अहिले विकासको प्रतिस्पर्धामा आफूलाई अगाडि बढाईरहेको छ र यसको नाम कसरी रहन गयो भन्ने तथ्यको अहिले ब्यापक खोजी हुन थाले पछि गैंडाकोटको चर्चा फेरी चुलिएको छ ।
तपाईको घर कहाँ हो ? भन्दा गैंडाकोट भन्ने धेरै छन् । तर गैंडाकोट कसरी रहन गयो भन्ने कमैलाई थाहा होला ।
जसको वास्तविक तथ्य पत्ता लागेको छ । जिल्ला समन्वय समिति पूर्वी नवलपरासीको सक्रियतामा गैंडाकोट ९ मा रहेको नारायणी सामुदायिक वनभित्रको रातोमाटे माथि गैंडाकट्टा शिला फेला परेको हो र त्यसै बाट ‘गैंडाकोट’को नाम रहन गएको बताईन्छ । पहाडी गाउँहरुबाट नारायणगढ बजार आउँदा प्रयोग गर्ने पुरानो बाटोमा अवस्थित उक्त ढुंगाको बारेमा ४५ वर्षअघि उक्त शिलाको बारेमा आफूले थाहा पाएको र अहिले स्थानीयले सोे गैंडा कटटा शिला फेला पारेका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेमगरले बताउनुभयो ।
त्यसैको खोजी गर्दै घण्टौं लगाएर सो फेला पारिएको प्रमुख आलेले बताउनुभयो । शिलाका बारेमा दुईवटा कथन रहेको छ । पहिलो कथन मणिमुकुन्दसेन राजाले दुर्गा पूजामा गैंडाको बलि दिनु भन्ने आदेश दिएपछि सो ठाउँमा गैंडा काटिएको भन्ने कथन छ भने अर्कोतर्फ जनतालाई धेरै दुःख दिएका कारण राजाकै आदेशमा गैंडा काटिएको भन्ने कथन पनि छ । तर सोही ढुँगामा गैंडा काटिएकोले गैंडाकट्टा ढुगा भनिदै आएको र त्यसैलाई लिएर गैंडाकोट नाम रहन गएको किंवदन्ती रहेको छ ।
भिजिट नेपाल २०२० को सुरुवात सँगै ऐतिहासिक र पुरातात्विक ठाउँहरुको खोजीमा सक्रिय रहेको जिल्ला समन्वय समिति नवलपुरले गैंडाकट्टा ढुगा फेला पारेको हो । गैंडाकै आकारमा रहेको उक्त शिलामा केहि लेउ लागेपनि गैंडाको अझै दुरुस्तै आकृति देखिन्छ । त्यो भन्दा अझै रोचक त आकृतिमा गैंडा काटिएको भागको टाउको तल झरेको छ र त्यसको काटिएको भाग र गैंडाको बाँकी भाग रहेको ठाउँको काटिएको भागको नाप बराबर छ ।
सो शिलाको नाप गरेर अब थप विशेषज्ञ सहित पूर्वाधार विकास र यसको प्रचारप्रसारमा लागि पर्ने जिल्ला समन्वय समिति प्रमुख आलेले बताउनुभयो । जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख शारदा विश्वकर्माले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउन नयाँ नयाँ गन्तव्यको खोजीअनुसार यो एउटा सफलता मिलेको बताउनुभयो । अब यसको थप संरक्षण र प्रचारप्रसारका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो । समाजसेवी बालुराम कुमालले वर्षौ आफू सोही स्थान हुँदै हिँडेपनि गैंडाकट्टाको इतिहासबारे भने पहिलो पटक थाहा पाएको र आकृतिले त्यो प्रमाणीत भएको बताउनुभयो । अव भने यसको संरक्षणमा लाग्ने उहाँको भनाई छ ।
वर्षौदेखि स्थानीयले उक्त ढुगा देखेपनि जारकाट्टेको नाउँले चिनिएको भन्दै बेवास्ता गरिएको थियो तर अहिले त्यहाँ रहेको आकृतिले यहाँ पर्यटक भित्र्याउन लागि पर्ने उहाँले बताउनुभयो । गैंडाकोट रहन गएको ऐतिहासिक तथ्य आफ्नै ठाउँमा रहेको भन्दै अब यसको विकासमा सवै एकजुट हुने स्थानीयले बताए ।
स्थानीय यज्ञबहादुर श्रेष्ठले यसको वास्तविकता थाहा पाएको र अब आफूहरुले पनि यसको संरक्षणमा लाग्ने जानकारी दिनुभयो । सबैकुराको जानकारी पश्चात गैंडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले पहिले जारकाट्टे ढुगाको रुपमा व्याख्या गरिएकोले खासै वास्ता नगरिएको तर अब यसको संरक्षणमा जुट्ने बताउँदै नेपाल भ्रमण वर्षका लागि अर्को सफलता मिलेको बताउनुभयो । मुख्य सडक पूर्वपश्चिम राजमार्गदेखि जैनटार टोल हुँदै उत्तर तर्फ २० मिनेटको पैदल यात्रापछि सो ठाउँमा पुग्न सकिन्छ ।