सिन्धुलीमाढी, माघ १६ गते । सिन्धुलीको मरिण गाँउपालिका–४ साहनमा माघ ७ गतेदेखि सुरु गरेको मरिण महोत्सव सकिन अझै दुई दिन बाँकी छ । यो महोत्सव नसकिदै फिक्कल गाँउपालिकाले पनि फागुन ९ गतेदेखि १० दिनसम्म दोस्रो फिक्कल महोत्सव गर्ने घोषणा गरेको छ ।
सरकारले भ्रमण बर्ष २०२० घोषणा गरेसँगै पर्यटन प्रबद्धन गर्ने भन्दै सिन्धुलीका स्थानीय तहले महोत्सव आयोजना गर्ने लहर नै चलाएका छन् । भ्रमण बर्षलाई लक्षित गरी यसअघि कमलामाई नगरपालिकाले सिन्धुलीगढी बिजय उत्सव र गोलन्जोर गाँउपालिकाको खुर्कोटमा पनि १० दिनसम्म प्रथम खुर्कोट महोत्सव सम्पन्न भई सकेको छ ।
गाँउपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरुको प्रचार प्रसार, स्थानीय कृषि उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जन बताउनुहुन्छ । गाँउपालिका र उद्योग बाणिज्य सङघ मरिण शाखाको आयोजनामा उक्त महोत्सव लगाईएको उहाँको भनाई छ ।
अध्यक्ष बम्जनले भन्नुभयो, ‘मरिण क्षेत्रमा रहेको पञ्चकन्या पोखरीलाई प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गरी गाँउपालिको प्रमुख आम्दानीको स्रोत बनाउने लक्ष्य हो ।’ महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती हेर्न आउने अबलोकनकर्ताका कारण स्थानीय कृषि उत्पादनको प्रचार प्रसारमा निकै सहयोग पुगेको उहाँको भनाई छ ।
मरिण महोत्सव ५० हजार जनाले प्रत्यक्ष अबलोकन गर्ने लक्ष्य राखिएको आयोजकको भनाई छ । यस्तै दोस्रो फिक्कल महोत्सव एक लाख जना आन्तरिक तथा बाहिय पर्यटकले अबलोकन गर्ने आयोजक फिक्कल गाँउपालिकाले जनाएको छ । महोत्सव गर्दा २८ लाख ५० हजार रुपियाँ खर्च हुने गाँउपालिकाको अनुमान् छ । फिक्कल गाँउपालिका अध्यक्ष धनबहादुर कार्की पनि सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो चुचुरो फिक्कल डाँडालाई प्रचार प्रसार गरी प्रमुख पर्यटकिय क्षेत्र बनाउनुका साथै गाँउपालिकाकै आम्दानीको स्रोत बनाउने लक्ष्य रहेको बताउनुहुन्छ ।
‘फिक्कल भन्ने बित्तिकै ईलाममा मात्रै फिक्कल छ भन्ने काठमाण्डौमा बस्नेले बुझेका रहेछन,’ उहाँले भन्नुभयो, ‘फिक्कल सिन्धुलीमा पनि छ भनेर चिनाउने हाम्रो अर्को लक्ष्य हो । फिक्कलसहित यहाँको किवी र आलुको पकेट क्षेत्रलाई चिनाउने पनि उद्देश्य छ ।’ गाँउपालिकाको आन्तरिक स्रोतम बृद्धि गर्ने र नेपाल सरकारको राष्ट्रिय लक्ष्य पुरा गर्न फिक्कल महोत्सवको तयारी गरिएको उहाँको भनाई छ ।
सुनकोसी गाँउपालिकाले पनि मङसिर महिनामा काठमाण्डौबाट जनकपुरसम्म हिडेका साईकल यात्रीको सम्मानमा एक दिने सांस्कृतिक महोत्सव सम्पन्न गरि सकेको छ । त्यसैगरी, तीनपाटन र हरिहरपुरगढी गाँउपालिकाले पनि भ्रमण बर्षलाई लक्षित गर्दै महोत्सव लगाउने घोषणा गरेका छन् । तीनपाटन गाँउपालिकाले माघ २८ गतेदेखि फागुन ५ गतेसम्म प्रादेशिक महोत्सव सञ्चालन गर्ने घोषणा गरेको छ ।
हरिहरपुरगढी गाँउपालिका भने फागुन महिनाभित्रै तीनदेखि पाँच दिनको महोत्सव सञ्चालन गर्ने तयारीमा जुटेको छ । गाँउपालिकाका अध्यक्ष कार्साङ लामाले महोत्सवको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने हुुदा उहाँले दिन समयलाई हेरेर अहिले दिन नतोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फागुन महिनाभित्र नै तीनदेखि पाँच दिनको महोत्सव हरिहरपुरगढीमै लगाउने तयारी गरेका छौ । हरिहरपुरगढीले दुई वटा ईतिहास बोकेको र सिन्धुलीमा पनि हरिहरपुरगढी छ भनेर चिनाई पर्यटन प्रबद्र्धन गर्न महोत्सव गर्न लागिएको हो ।’महोत्सवले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थल तथा स्थानीय कृषि उत्पादनको प्रचार प्रसारमा सहयोग पुगेपनि महोत्सवमा रमाईलोका लागि राखिने पिङ, सर्कस, मौतका कुवा र विभिन्न खेलले ठूलो धन राशी बाहिरिने स्थानीयको अनुभव छ । मरिण गाँउपालिका–४ का बासिन्दा मिलन माझी महोत्सवमा अन्य गतिविधिमा भन्दा पनि मानिसको पिङ, सर्कस, मौतका कुवा र विभिन्न खेलमा निकै भिड लाग्दै आएको जानकारी हुन्छ ।