logo
२०८१ मंसिर १० सोमवार



चिनी उद्योगको प्रदुषण विरुद्ध आन्दोलन

समाज |


चिनी उद्योगको प्रदुषण विरुद्ध आन्दोलन


सर्लाही, माघ १९ गते । सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले प्रदुषण नियन्त्रण गर्न चासो नदिएको भन्दै स्थानीय वासिन्दा आन्दोलित भएका छन् ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उद्योगले धूलो धुँवा र दुर्गन्ध नियन्त्रण गर्न चासो नदिएपछि आन्दोलन सुरु गरिएको उद्योग विरुद्ध गठित संघर्ष समितिका संयोजक सुरेश भट्टराईले जानकारी दिनुभयो । आन्दोलनको पहिलो दिन स्थानीय वासिन्दाले आइतवार पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा ¥याली निकाली चिनी उद्योग, नगरपालिका र ईलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

तीन दिनभित्र प्रदुषण नियन्त्रण गर्न कुनै पहल नगरे उद्योगविरुद्ध कडा आन्दोलन गर्ने संघर्ष समितिका संयोजक भट्टराईले बताउनुभयो । इन्दुशङ्कर चिनी उद्योगबाट निस्कने धूलो धुँवाका कारण घर तथा करेसा बारी कूरुप हुनुका साथै स्वास्थ्यमा श्वासप्रश्वास लगायतका समस्या देखिन थालेको स्थानीय वासिन्दाले बताएका छन् ।

चिनी उद्योगको चिम्नीबाट उड्ने कालो धूलोले धोएर सुकाएको लुगा कालै हुने, घरभित्रै बसेर खाना खाँदा पनि खानाभरी छपक्कै धूलो हुने र चिनी उद्योग पछाडि रहेको डिष्ट्रिलरीबाट बग्ने झोलिलो पदार्थले गाउँ नै दुर्गन्धित हुने गरेको स्थानीय विनय न्यौपानेले गुनासो गर्नुभयो । उद्योगको प्रदुषणका सम्वन्धमा यसअघि पटक–पटक ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउने काम भएपनि सुनुवाई नभएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?