मधुसुधन तिमल्सिना
काभ्रे, माघ २० गते । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले दुर्गम दुई गाउँपालिकालाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री एव्म शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बेथानचोक गाउँपालिका र चौँरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा (ग्रामीण आपतकालिन ट्रमा प्रणाली सुदृढीकरण परियोजना) ख बर्गका एम्बुलेन्स मन्त्री बाँस्कोटाले रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधान सहित बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले रेडक्रसलाई विशुद्ध मानविय भावनासँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले जहाँ मान्छे त्यहाँ रेडक्रस पुग्न सक्नुपर्नेमा जोड्दिनुभयो । उहाँले रेडक्रसको जुन उद्धेश्य छ त्यही अनुसार अगाडि बढ्न सक्दा मात्र विश्वास जित्न सकिन्छ, भन्नुभयो । सरकारले रेडक्रस सम्वन्धी थप ऐन निर्माण, टोल फ्रि नम्वरको ब्यवस्थापन र विपद सम्वन्धी कार्यका लागि सहकार्य गर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । उहाँले रेडक्रसकर्मीलाई राजनीतिमा नभई एकता सहितको शान्ति निर्माण अभियानमा सक्रिय बन्न आग्रह गर्नुभयो ।
उहाँले रेडक्रस कुनै कमाई धमाई गर्ने संस्था नभएको बताउनुहुँदै मती, गती, भावन र सही दुष्टिकोण अगाडि बढ्न सक्नुपर्ने सुझाव दिनुभयो । उहाँले रेडक्रस भूकम्प, बाडीपहिरो जस्ता विपत्तमा सहयोग गर्ने संस्था भएकाले त्यसमा नै ध्यान दिन सक्नुपर्छ भन्नुभयो ।
तीव्ररुपमा सहरीकरण बढेसँगै दुर्घटना लगायतका घट्ना दिननुदिन बढ्दै जाँदा सुविधा सम्पन्न एम्बुलेन्स आवश्यक रहेको बताउनुभयो । जति सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद, अझै यसलाई अन्य तहमा पनि सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
‘ख’ वर्गका एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी रहने छन भने अस्पतालमा इमरजेन्सीमा हुने सुविधा उक्त एम्बुलेन्समा हुने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय स्वास्थ्य सेवा विभागका उपनिर्देशक बालकृष्ण सेढाईले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क्यानेडियन रेडक्रसको सहयोगमा सिन्धुपाल्चोक जिल्लामा तीन र काभ्रे जिल्लामा दुई वटा एम्बुलेन्स उपलब्ध गराईएको छ ।’ चालकलाई प्रशिक्षण सहित तलव र अन्य ब्यवस्था परियोजना अवधीभर रेडक्रस मार्फत उपलब्ध हुनेछ । सेवाग्रहीसँग असुल गरिएको रकम कोषमा जम्मा गरी एम्बुलेन्सको मर्मत सम्भार गरिनेछ । कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकाल, नेकपा अध्यक्ष रुकु चौलागाई, नेपाली कांग्रेसका उपसभापति अच्युत पौड्ेल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, प्रेमबहादुर तिमल्सिना, केन्द्रीय कोषाध्यक्ष देवेन्द्र प्रधान, जिल्ला सभापति रघुवर चौ प्रधान लगायतले मन्तव्य राख्नुभएको थियो ।