मधुसुधन तिमल्सिना
काभ्रे, माघ २१ गते । पछिल्लो समय काभे्रपलाञ्चोक जिल्लाका ग्रामीण भेगमा वन्यजन्तु र मानव बीच द्धन्द बढ्न थालेको छ । मानविय बस्ती मै आएर वन्यजन्तुले दुःख दिन थालेपछि त्यसको प्रतिकारमा उत्रिदा मानव र वन्यजन्तु बीच द्धन्द बढ्दै गएको हो । ग्रामीण भेगमा चितुवा, बाँदर, बदेललगायत वन्यजन्तुले किसानलाई दुःख दिने गरेका छन । यसले मानव र वन्यजन्तु बीच झनझन द्धन्द बढ्न थालेको स्थानीयको भनाई छ । यसैक्रमा चितुवाले आईतबार र सोमबार पाँचखालमा मात्रै आठ जनालाई घाईते बनाएको छ भने भुम्लुमा तीन दिनमा १० वटा बाख्रा खाएको प्रहरीले जनाएको छ ।
पाँचखालमा तीन दिन देखी चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयले जिल्ला प्रशासनमा खबर गरेका थिए । सोमबार पनि आक्रमण आएको चितुवालाई स्थानीयले छेकटो हालेर समाउन खोज्दा छ जनालाई घाईते बनाएपछि गाउँले जम्मा भएर चितुवलाई मारेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविकुमार पौडे्लले वन कार्यालय र प्रहरी घट्नास्थल पुग्दा चितुवा मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मानविय बस्तीमा आएको चितुवाले मान्छेलाई आक्रमण गर्न थालेपछि प्रतिकारका क्रममा चितुवाको मृत्यु भएको स्थानीयको भनाई छ ।
पाँचखाल नगरपालिका वडा नम्वर ६ का अध्यक्ष रामशरण दुलालले तीन दिन देखी मान्छेलाई आक्रमण गर्ने लगायतका दुःख दिन थालेपछि धुलिखेल नगरपालिका ११ कल्छे र पाँचखाल नगरपालिका वडा नम्वर ६ एकताबस्तिका स्थानीयहरुको संयुक्त प्रयासमा चितुवालाई नियन्त्रणमा लिन खोज्दा आक्रमण गर्न आए पछि प्रतिकारमा चितुवा मरेको जानकारी दिनुभयो । शनिबार स्थानीय सरस्वती कायष्ठलाई मुख धुँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । आइतबार विद्यालय जाँदै गरेका विद्यार्थीलाई आक्रमण गरेको थियो भने सोमबार पाँचखाल नगरपालिका वडा नम्वर ६ का अर्जुन श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, बैकुष्ठ कायष्ठ, लक्ष्मी श्रेष्ठ, भीमकुमारी सत्याल, सरस्वती कायष्ठ, कुमार विक र धुलिखेल नगरपालिका ११ का नारायणप्रसाद बडाल घाईते हुनुभएको छ । घाईते मध्ये केहिको धुलिखेल अस्पताल र केहिको काठमाडौ रिफर गरिएको छ । तीन जना गम्भिर रहेको धुलिखेल अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै विहीबार देखि लगातार चितुवाले बाख्रा खान थालेपछि भुम्लु गाउँपालिका स्थानीयहरु त्रसित हुन थालेका छन् । साँझ विहान गोठमा जानै नसक्ने स्थानीयको भनाई छ । स्थानीय हरिहर उप्रेतीले चितुवाले १० भन्दा बढी बाख्रा खाएको बताउनुभयो । बाख्रा खाने चितुवा मानव बस्तिमा पसेसँग उनीहरु त्रसित भएका छन । स्थानीयहरुले स्थानीय सरकार, प्रहरीसँग सुरक्षा माग गरिरहेका छन ।
डिभिजनल वन कार्यलयका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले १० वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । ५९ वटा खसीबोका, एक सय ४० कुखुरा, पाँच वटा बंगुर, एक वटा बाछीका लागि ५१ लाख ६५ हजार चार रुपियाँ राहत भुक्तानी भएको छ । खाद्यान्न बाली क्षति भएका ६ जनाले एक लाख ८० हजार पाएका छन । २२ वटा पशुधन क्षति भए पनि तस्बिर नभएका कारण दुई लाख चार हजार चार सय राहत रकम भुक्तानी बाँकी रहेको उहाँको भनाई छ ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६८ अनुसार मानवीय क्षति भए १० लाखसम्म, ठूला जनावर क्षति भएमा ३० हजारसम्म, साना जनावर, घरगोठ, भकारीको अन्न र एक मौसममा लगाएको बालीको हकमा एक पटक र वर्षमा दुई पटक नबढ्ने गरीे १० हजारसम्म राहत रकम उपलब्ध गराइने उल्लेख छ । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, अजिंगर, गौरीगाईबाट मानवीय, पशुधन, भण्डारण गरेको अन्न, घरगोठ र खाद्यानबालीको क्षति गरे राहत दिने निर्देशिकामा उल्लेख छ ।