गोकर्ण दयाल
बैतडी, माघ २२ गते । भारतबाट पुल तरेर आएका बाँदरले आतङ्क मच्चाउन थालेका छन् । पुल तरेर आएका बाँदरका कारण बैतडीको दशरथ चन्द नगरपालिका– ५, ६, ८ र १० नम्बर वडाका पाँच गाउँका सयौं परिवार विस्थापित भएका छन् ।
भारत पारीबाट झुलाघाट पुल तरेर बैतडी आउने बाँदर राति झुलाघाट बसपार्कमा बस्छन् । बिहानीपख बैतडीको दशरथ चन्द नगरपालिका ५, ६, ८ र १० नम्वर वडाका धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, आईत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँमा पुगेर खेतीपाती मात्र होईन, भान्सा कोठामा पकाएको खाना समेत खान थालेका छन् ।
बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरासमेत बाँदरले छिनेर खान थालेपछि दशरथ चन्द नगरपालिका– ८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटाको पूरै परिवार भारतपलायन भएपछि उहाँको घर सुनसान बनेको छ ।
बाँदरका कारण अधिकांश परिवारले गाउँ छोडेपछि विद्यार्थी संख्या नपुग्दा गाउँमा भएका स्कुल धमाधम समायोजित हुनथालेका छन् । गाउँको विद्यालय बन्द भएर अन्तै समायोजित हुँदा त्यहाँ जान टाढा भएपछि नेपाली विद्यार्थी सीमा पारी भारतको पिथौरागढ जिल्लाको झुलाघाटमा रहेको राजकीय विद्यालयमा पढ्ने गरेका छन् ।
दशरथ चन्द नगरपालिका– १०, का दिवान विष्टले गाउँका विद्यालय बन्द भएपछि सीमापारी भारतीय विद्यालयमा अध्ययन गर्नु परेको बताउनुभयो । गाउँको विद्यालय मर्ज भएर अन्तै गाभिएपछि त्यहाँ टाढा भएकोले पुल तरेर भारतको विद्यालय नजिक पर्ने विष्टले बताउनुभयो ।
झुलाघाटबाट उकालो चढेर नेपालका विद्यालय जान घण्टौ लाग्ने भएकाले भारतीय विद्यालय नजिक भएकाले त्यता पढ्ने गरेको विद्यार्थी मोहित महर बताउनुहुन्छ ।
बाँदर आतंकका कारण स्थानीय विस्थापित भएपछि दरशथ चन्द नगरपालिका– ८, मा रहेका रणशैनी आधारभूत विद्यालयमा ६ जना विद्यार्थी र ८ जना शिक्षक रहेपछि उक्त विद्यालय अर्को गाउँमा रहेको जगदम्बा मावि रानीबुङ्गामा समायोजित भएको छ ।
बाँदरले गाउँमा लगाएको खेतीपाती सखाप पार्न थालेपछि हुनेखानेहरु तराईतिर झरेको र गरिब विपन्न परिवार भारत गएपछि स्थानीय कैलपाल आधारभूत विद्यालयमा विद्यार्थी नहुँदा स्कुल बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक लक्ष्मण थापाले बताउनुभयो ।
विद्यार्थी संख्या नपुगेपछि ज्ञानेश्वर आधारभूत विद्यालय पनि दानेश्वर माविमा समायोजित भएको छ । गाउँमा रहेको विद्यालय अपायक पर्ने ठाउँमा समायोजित भएपछि स्थानीय साङडी गाउँका १५ जना विद्यार्थी सीमापारी भारतीय विद्यालय जाने गरेको स्थानीयवासी रघुवीर थापा बताउनुहुन्छ ।
भारतबाट पुल तरेर सयौंको संख्यामा आउने बाँदर पहिले बारीमा लगाएको खेतीपाती, तरकारी, फलफूल नास गर्छन् । स्थानीयले बाली लगाउन छोडेपछि अचेल भान्सामै पुगेर पकाएको खाना खोसेर खान थालेको दशरथ चन्द नगरपालिका–१०, स्थानीय तथा स्वास्थ्य स्वयंसेविका मञ्जु चन्दले बताउनुभयो ।
बाँदरकै कारण आफूले विगत दुई वर्षदेखि खेतीपाती गर्न छोडेको चन्दले बताउनुभयो । बाँदर आतङ्कले बुड्डा गाउँका २० परिवारले गाउँ छोडेको चन्दले बताउनुभयो ।
बाँदरले दरशथ चन्द नगरपालिका ४, ५, ६, ८ र १० नम्बर वडाका गाउँका किसानले खेतीपाती लगाउन छोडेर परिवार बसाई सर्न थालेपछि दशरथ चन्द नगरपालिकाको पाँचौं नगरसभाबाट वन्यजन्तु शीर्षकका १० लाख रुपियाँ बजेट छुट्याएको दशरथ चन्द नगरपालिकाका उपमेयर मीना चन्दले बताउनुभयो ।
नगरपालिकाले विनियोजित गरेको बजेट बाँदर नियन्त्रण कसरी गर्ने भन्ने विषय अहिलेसम्म यकिन नहुँदा, न बजेट खर्च हुन सकेको छ न त, बाँदर नै नियन्त्रण हुन सकेका छन् ।