logo
२०८१ मंसिर ९ आईतवार



पर्यटक कुर्दै ढुंग्रे भन्ज्याङको होमस्टे

पर्यटन |


पर्यटक कुर्दै ढुंग्रे भन्ज्याङको होमस्टे


बाबुराम देवकोटा

ढुंग्रेभञ्ज्याङ(सिन्धुली), माघ २२ गते । कमलामाई नगरपालिका–ढुंग्रेभञ्ज्याङ निवासी चेतबहादुर थापामगर अहिले पाहुनाको पर्खाईमा बस्नु भएको छ । गत जेठ महिनादेखि निर्माण सुरु गरेको होमस्टे मङगलबारदेखि सञ्चालनमा आएसँगै उहाँलाई पाहुनाको अभाव सुरु हुन थालेको हो । हामेस्टेमा आउने पाहुनालाई सुरुमा स्थानीय उत्पादन भुटेको मकै, भटमास र गुन्द्रुकले स्वागत गर्ने उहाँको तयारी छ । साँझ बास बस्न आउने पाहुनालाई खुवाउन लोकल कुखुरा समेत उहाँले पाल्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘एक जना पाहुनाबाट एक रात बसेको आठ सय रुपिया लिने गाँउमा होमस्टे सञ्चालन गर्ने व्यक्तिले सामूहिक छलफल गरि निर्णय गरेका छौं । आठ सय रुपिया तिरेपछि पाउनाले मुटेको मकै, भट्मास र गुन्द्रुक, साँझ बास बस्दा लोकल कुखुराको सुपसहित खाना र बिहान चियानास्ताको सुविधा पाउने छन् ।’

पर्यटन प्रबद्र्धन गरी गाँउमै रोजगारीको अबसर सिर्जना गर्न होमस्टे सञ्चालन सुरु गरेको उहाँको भनाई छ । भद्रकाली सामुदायिक होमस्टेका अध्यक्ष समेत रहनु भएका थापामगरका अनुसार मगर समुदायको बाहुल्यता रहेको ढुंग्रेभञ्ज्याङमा १७ घर परिवार होमस्टे सञ्चालनमा जुटेका छन् । ती मध्ये १२ घर परिवारले मङगलबारदेखि होमस्टे सञ्चालनमा ल्याएका छन् । बाँकी पाँच घरले भने पूर्वाधार निर्माण गरी नसकेको हुदा सञ्चालन हुन बाँकी रहेको छ । चाँडै ती घरले पनि होमस्टे ल्याउने बताएका छन् ।

स्थानीयका अनुसार बीपी राजमार्गसँग जोडिएको ढुंग्रेभञ्ज्याङ नजिकै नेपालकै बिरताको गाथा बोकेको ऐतिहासिक सिन्धुलीगढी रहेको छ । यो बाहेक राजधानी र तराईका जिल्लाबाट नजिकै रहेको, चिसो हावापानी, प्राचिन भद्रकाली देवीको मन्दिर, प्राकृतिक मनमोहक दृष्य भएकाले स्थानीयले ढुंग्रेभञ्ज्याङमा होमस्टे सञ्चालन संभव देखेका हुन् । यो जिल्लामै पहिलो सञ्चालन होमस्टे हो ।

अहिले होमस्टे सञ्चालन गरिएका घर गाँउका अरु घरमा लगाएको रङभन्दा भिन्दै सुन्तला रङ लगाएर सिंगारेर चिटिक्क पारिएको छ । पाहुनाले परैबाट होमस्टे सञ्चालन गरेको घर चिनुन भनेर एकै किसिमको रङ लगाएको सञ्चालकहरु बताउछन् ।

दुई वटा कोठा उपलब्ध गराउन सक्ने घरमा होमस्टे सञ्चालन गरिएको उक्त होमस्टे निर्माण गर्न सहजिकरण गरेको ग्रामीण आर्थिक सशक्तिकरण समाज (श्री) सिन्धुलीले जनाएको छ । उक्त संस्थाका कार्यक्रम संयोजक बेदराज दाहालका अनुसार बागमती प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्तर्गत २० लाख रुपिया र कमलामाई नगरपालिकाको पाँच लाख रुपियाको लागतमा ढुंग्रभञ्ज्याङमा भद्रकाली सामुदायिक होमस्टे सञ्चालनमा ल्याईएको छ ।

यि होमस्टेको एक पटकमा ५० जना पाहुना राख्न सक्ने क्षमता भएको उहाँले सुनाउनुभयो । उक्त ठाँउमा होमस्टे सञ्चालनमा ल्याउन कृषि ज्ञान केन्द्र, कमलामाई नगरपालिका, उद्योग बाणिज्य सङघ, घरेलु तथा सना उद्योग विकास समिति र कन्दमुल तथा तरकारी विकास केन्द्रले पनि सघाएको उहाँले बताउनुभयो । कोदो, फापर, चिनो, कागुनो, जौ, उवा र लट्टे जस्ता रैथाने बाली लोप हुदै गएकोले ती बालीको संरक्षण र प्रबद्र्धन गर्न ग्रामीण पर्यटनस“ग जोडिएको होमस्टे निर्माण गरिएको उहाँको भनाई छ ।

होमस्टेमा आएका पाउनालाई मनोरन्जन दिन रोदी घर पनि निर्माण गरिएको छ । कला घर सिन्धुलीले स्थानीय युवायुवतीलाइ तालिम दिएर सांस्कृतिक समूह नै तयार पारेको छ । मगर वस्ती बाक्लो रहेको उक्त स्थानमा उनीहरुका कला संस्कृति समेत पाहुनाले हेर्न पाउनेछन् । ‘पञ्चे बाजाका अलावा नेवारी, मगर, तमाङ र मारुनी नाच लगायत लापोन्मुख संस्कृतिको संरक्षणका सबै काम गरेका छौं,’ कलाघर सिन्धुलीका अध्यक्ष सुमन आइडुले भन्नुभयो, ‘एक पटक आएका पाहुनालाइ फेरी आउआउ लाग्ने गरि काम गरेका छौं ।’

होमस्टे सञ्चालकलाई श्री सिन्धुलीले तरकारी खेती, कुखुरापालन तालिम र उद्यमशिलता तालिम उपलब्ध गराएको स्थानीय बासिन्दा बताउछन् । होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने स्थानीय उत्पादनमा कमि ल्याउन नदिन सञ्चालक आफैले जिम्मा लिएका छन् ।

अर्का होमस्टे सञ्चालक शंकर जर्घामगर भन्नुहुन्छ, ‘मैले अर्गानिक तरकारी खेती (टमाटर)को जिम्मा लिएको छु, कुनै घरले खसीबोका, कुनै घरले कुखुराको कमि हुन नदिने जिम्मा लिएका छौं ।’ प्राङगारिक खानेकुराहरु सिस्नो, फापर, कोदो, गिठा, भ्याकुर, मकैका परिकार बनाएर पाहुनालाई खुवाउने योजना होमस्टे सञ्चालकले बनाएका छन् ।

अहिले नजिकका (स्वदेशी) पाहुना राख्ने र पछि बिदेसी पाहुनालाई राखेर स्वागत गर्ने लक्ष्य रहेको जर्घामगरको भनाई छ ।

यसैबीच, उक्त भद्रकाली सामुदायिक होमस्टेको मंगलबार एक समारोह बीच कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले उद्घाटन गर्नुभयो । उहाँले होमस्टे सञ्चालकले पहिलो पटक आएको पाहुनालाई अर्को पटक पनि आकर्षित गर्न सक्नु पर्ने बताउनुभयो ।

‘हाम्रा तुल्याई र बनाई गरिने पाहुनालाई आकर्षित गर्छ,’ उहाँले भन्नुभयो, ‘संस्कार र संस्कृति पनि अहिलेको परिस्थितीसँग ढाल्नु पर्छ ।’ अब पैसा कमाउन बिदेश जानु नपर्ने उहाको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आन्तरिक र बाहिय पर्यटक आकर्षित गर्न होमस्टेले सघाउ पुगेको बताउनुहुन्छ । होमस्टेले पाहुनालाई घरायसी बाताबरण सिर्जना गर्ने बताउदै उहाँले होमस्टे सञ्चालनले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योग्दान दिने धारणा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?