सन्तोष सुवेदी
सिरहा, माघ २४ गते । सौन्दर्यको व्यापार सिरहाको ग्रामीण बजारमा पनि देखिन थालेको छ । ग्रामीण क्षेत्रमा महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न निकायहरुले अभियान थालेपछि महिलाहरुको प्रमुख रुची सौन्दर्यतर्फ परेसँगै ग्रामीण बजारहरुमा सौन्दर्यको व्यापार फस्टाउन थालेको हो । ग्रामीण बजारमै सुन्दर बनाउने ठाउँ (ब्युटिपार्लर) भेटिन थालेपछि शहरी क्षेत्रका ब्युटिपार्लरहरु स्थानीय महिलाहरुको मात्र जमघटमा सीमित देखिएका छन् ।
‘पहिले पहिले ग्रामीण भेगका महिलाहरु यहाँ बढी आउथिए तर केही महिनादेखि उनीहरुले गाउँमै सुविधा पाउन थालेपछि तिनीहरु यहाँ आउन छाडेका छन्’, लहान–१ स्थित आसिका व्युटिपार्लरकी सञ्चालिका निरु लामा भन्नुहुन्छ–अब त स्थानीय महिलाहरु मात्रै यहाँ आउने गरेका छन् ।
नभन्दै मिर्चैयादेखि १० किलोमिटर भित्र पर्ने कल्याणपुर बजारमा रहेको सरस्वती ब्युटिपार्लरलाई भ्याइ नभ्याई छ । कल्याणपुर बजारमा स्थानीय सरस्वती साहले आफ्नै घरमा ब्युटिपार्लर सञ्चालन गरेपछि सधैं मिर्चैया पुगेर सौन्दर्य स्याहार्ने कल्याणपुर र आसपासका क्षेत्रका महिलाहरु त्यहाँ जान छाडेका छन् । सरस्वतीकै देखासिखीमा कल्याणपुरमा खुलेका थप दुई वटा ब्युटिपार्लरमा पनि दैनिक भीड राम्रै हुन्छ ।
‘विहे नहुँदै मैले ब्युटिपार्लरको तालिम लिएकी थिए’, सरस्वती ब्युटिपार्लरकी सञ्चालिका सरस्वती साहले भन्नुभयो–विहेपछि पति र सासुको अनुमति पाएपछि ब्युटिपार्लर खोले, अहिले दुई वर्षदेखि यो पेशाले घरको आम्दानीमा थप सघाऊ पु¥याउँदै आएको छ ।
सरस्वतीसँग सौन्दर्य सीप सिकेकी कल्याणपुर जब्दीकी ममता कुमारी साहले कल्याणपुरको छेउको गाउँ जब्दीमा अर्को ब्युटिपार्लर पनि सञ्चालनमा ल्याउनु भएको छ । ‘सासु र ससुराले सहयोग गर्छु भनेपछि उहाँहरुकै सहयोगमा मैले ब्युटिपार्लर सञ्चालन गरेकी हुँ’, ममताले भन्नुभयो–विहेबारीको समय भएकोले माघ महिनामा आसपासका क्षेत्रहरुका प्रत्येक सौन्दर्य बनाउने ठाउँहरुमा सौन्दर्यको व्यापार जमेको छ ।
‘गाउँ हातमा खोलिने ब्युटिपार्लरको ज्याला शहरी क्षेत्रको भन्दा निकै कम भएकोले पनि ग्रामीण क्षेत्रका महिलाहरु ब्युटिपार्लरप्रति आकर्षित भएका हुन्’, लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय सिरहाका कार्यालय प्रमुख दिपेन्द्र यादव भन्नुभयो–हामीकहाँ महिला स्वरोजगार कार्यक्रम अन्तर्गत ब्युटिपार्लरको तालिमको माग निकै आउने गरेको छ ।