जिबछ यादव
लहान,फागुन ४ गते । लहान नगरपालिका ११ नम्बर वडामा रहेको मुसहर बस्तीलाई आर्थिक, सामाजिक र शैक्षिक सुधारको लागि वडा कार्यालय र महिला अधिकार मञ्च पडरियाले मदिरामुक्त बस्ती घोषणा गर्ने अभियानमा सक्रियता देखाएका छन् । पहिलो चरणमा महिलाहरुलाई मदिरा सेवनको बानी छोडाउन सफल भएका छन् भने दोश्रो चरणमा पुरुषहरुलाई मदिरा सेवनको बानी छोडाउन अभियानकर्मीहरु सक्रियता बढाएका छन् ।
पडरीया गाँउको दक्षिण ऐलानी जग्गामा बससोवास गर्दै आइरहको १६ घर परिवार मुसहर समुदायका महिला पुरुष सबै मदिरा सेवन गर्नाले दिनानु दिन आर्थिक समाजिक र शैक्षिकरुपमा पछि पर्दै गइरहेको ठम्याएर मदिरामुक्त बस्ती घोषणा गर्न लागि परेको वडाध्यक्ष राज कुमार साहले बताउनुभयो ।
उहाँको अनुसार यस बस्तीमा रहेका १२ घर परिवालाई एकिकृत वस्ती निर्माण अन्तर्गत ६६ लाखमा बस्ती निर्माण र सडक निर्माण कार्यलाई लहान नगरपालिकाले अगाडि बढाई सकेको छ । नजिकै रहेको जनता आधारभूत विद्यालय कल्याण्दह वेलीमा यस वस्तीका बालबालिकाहरु नियमित पढ्न नजाने कबारी बस्तुहरु संकलन गरेर एक दुई सय रुपैया कमाएर घर परिवारमा दिने आमा बुवा मदिरा सेवन गर्नले ठूलो समस्या देखियो । यस समस्यालाई समाधान गर्नको लागि विद्यालयका शिक्षक, महलिा अधिकार मञ्च लगायत सबै मिलेर यस गाँउलाई मदिरामुक्त गाँउ घोषणा गर्न लागेका छौ ।
प्रति घर परिवार ६० रुपैयाँको दरले गर्ने खर्चलाई जोडदा वर्षको तीनलाख रुपैयाा मदिरामा खर्च गरिरहेको पाएको सामाजिक परिचालिका सुनैना चौधरीले सुनाँउदै भन्नुभयो,मदिरामुक्त गाँउ बनाएर यस मुसहर बस्तीलाई नमूना गाँउ बनाउनको लागि वडा कार्यालयको सक्रियता र दलित जन कल्याण यूवा लहानले गरेको पहल अनुसार पहिलो चरणमा महिलाहरुलाई मदिरा सेवनबाट मुक्त गर्न अभियान थालेका छौ । मदिरा सेवन गर्ने वानीबाट महिलाहरुलाई मुक्त गराएपछि प्ुरुषहरुलाई गराउने तयारीका साथ अघि बढेका छौ ।
दलित जन कल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले सप्तरीपछि सबैभन्दा बढी दलित जनसंख्या भएको जिल्ला सिरहामा मदिरा सेवनकै कारण खास गरेर डुम र मुसहर समुदायको अवस्था अतयन्तै नाजुक बन्दै गइरहेको भन्दै यसलाई रोक्नको लागि लहान ११ का जनप्रतिनिधि, महिला अधिकारमञ्च लगायतका सामाकि अगुवाहरुको प्रयास सफल भए लगतै लहान नगरपालिकाको सम्पूर्ण दलित वस्तीहरुलाई मदिरामुुक्त बस्ती घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभयो ।
महिला मानव अधिकारवादी देव कुमारी महराले लहान नगरपालिकाको मुख्य बजारसँगै जोडिएर रहेको १, २ र ३ नम्वर वडाको डुम र मुसहर समुदायमा एकल महिलाहरुको संख्या दिनानु भन्दै गइरहेको स्पष्ट गर्दै भन्नभयो, ४० वर्ष उमेर नपुग्दै मदिरा सेवनको लतमा लागेर पुरुषहरुको मृत्यु भइरहेको छ । एकल महिलाहरुले बालबालिकाहरु एक्लै पालन पोषण गरेर ग्जारा गरिरहेको अवस्था छ । मदिरामुक्त दलित वस्ती घोषणा अभियानलाई अगाडि बढाउने कार्य लहान ११ बाट सुरु हुनु शुभ संकेत हो ।
लहान १ की सोनिया देवी सदाय भन्नुहुन्छ, मुसहर र डुम बस्तीमा पोषण खाना खादैन । महिनामा एक ग्लास पनि दुध खपत हुँदैन र तर प्रति दिन प्रतिघर दिनभरि गरेको मजदुरी गरेर ल्याएको रकमबाट एकसयदेखि पाँच सय सम्मको मदिरा खाएर सकाउने गरेको छ । लहानमा मुसहर र डुमको बस्तीबाट मात्रै दिनको एकलाख सम्मको मदिार खपत भइरहेको छ । मदिरा सेवनकै कारण मुसहर र ड्म समुदायको प्रगति रोकिएको हो । मदिरामुक्त समाज बनाउन चेतना र प्रहरी परिचालन दुबै गरेर अघि बढ्नुपर्छ ।
लहान ११ पडरिया १६ घरपरिवार मुसहर बस्तीका १२ जना दलित महिलाहरु एक कार्यक्रमको बीच आइन्दा आफू मदिरा सेवन नगर्ने , पुरुषहरुले मदिरा सेवन गर्न नछाडै प्रहरी बोलाएर समात्न लगाउने र नियमित बालबालिकाहरु विद्यालय पठाउने संकल्प सहित प्रतिवद्धता व्यक्त गरेका थिए । प्रतिवद्धता व्यक्त गर्ने महिलाहरुमा नीलम सदाय,पुनम सदाय,प्रमिला सदाय,आशिष सदाय,सोमनी सदाय,राम कुमारी सदाय,अमेरिका सदाय,कुमारी सदाय , पवन सदाय र शनेश्चरी सदाय रहेका छन् ।