विष्णुप्रसाद पोखरेल
दमक, फाल्गुन २२ गते । भmापामा प्रहरीले एकदिनै ८ जना लागुऔषधका कारोबारीहरुलाइ पक्राउ गरेको छ । लागुऔषधका कारोबारीहरुलाई प्रहरीले कडाई गरेपछि लागुऔषध भित्र्याउने नयाँनयाँ उपाय खोजी गर्ने गरेको पनि पाईएको छ ।
मेची नगर नगरपालिका वडा नं. ६ भन्सार गेट अगाडि लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा तरकारी खानका लागि प्रयोग हुने फुलकोपीमा ब्राउन सुगर लुकाएर ल्याउदै गरेको अवस्थामा दूइजनालाइ पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने समिर माझी रसुरज माझीले फुलकोपीमा लुकाई छिपाई ल्याएको करिब ४ दशमलव ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनु भएको छ । शब्जिमा समेत लागुऔषध मिसाएर र लुकाएर ल्याउने गरेको भेटियो, उहाँले भन्नुभयो ।
यसैगरी बुधबार नै इलाका प्रहरी कार्यालय बिर्तामोडले बुधबार ३५ ग्राम ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । लागु औषध सहित होटलमा कारोबारीहरु रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले अर्जुनधारा –११ नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट ६ जनालाई पक्राउ गरेको बताईएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजालका अनुसार पाँचथरको फाल्गुनन्द गााँउपालिका वडा नं. ४ का २४ वर्षीय सञ्जु चेम्जोङ, २० वर्षीय समिर लिम्बू, अर्जुनधारा नगरपालिका वडा नं. ६ का बिबेक तामाङ र १९ वर्षीय रोशन गुरुङ, देउमाई गाँउपालिकाका वडा नं. २ का २० वर्षीय सन्तोष तामाङ र र पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १३ का १८ वर्षीय दिपेन लिम्बू पक्राउ परेकाहुन् ।
उनिहरुको साथबाट ३५ ग्राम ब्राउन सुगर, ६ थान मोवाइल सेट र ५५ हजार नगद बरामद गरिएको रिजालले जनाउनु भएको छ । पछिल्लो केहि समययता लागुऔषध कारोबारी तथा प्रयोगकर्ताप्रति प्रहरी निगरानी बढाउदै आएको छ ।