डिलबहादुर सिंह
डोटी, चैत २ गते । ‘रक्सीले घरपरिवारमा समस्या पर्याे, दिनभरी राम्रै मेलमिलाप गरेर बसेको मान्छे पनि बेलुका भएपछि रक्सी खाएर झगडा गर्न थाल्छन् यसको समाधान खोज्नु पर्यो हजुर’–समुदाय प्रहरी साझेदारी अन्तरगत जिल्ला प्रहरी कार्यालय डोटीले सायल गाउँपालिकामा आयोजना गरिएको अन्तरक्र्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय महिलाहरुहरुले उठाएको सवाल हो यो । रक्सीका कारण घर परिवारमा हिँसा भएको जानकारी गराउदै स्थानीय महिलाहरुले उपस्थीत अतिथीहरुसँग रक्सीका कारण महिला र बालबालिकाले पिडा भोग्नु परेकोमा त्यस्तो कार्य अन्त्यका लागि माग गर्नुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीय तह, बिभिन्न सामाजिक संस्था, शैक्षिक संस्था, समुदाय लगायतसँगको सहकार्यमा सामाजिक कुरिती अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले बिभिन्न कार्यक्रम गर्दै आएको छ । सायल गाउँपालिकामा आयोजित अन्तरक्र्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले अघिल्लो गाउँसभावाट गाउँपालिका क्षेत्र भित्र रक्सी बिक्री बन्द गर्ने निर्णय गरिएको भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । अध्यक्ष डुम्रेलले भन्नुभयो, रक्सी बन्द गर्ने निर्णयले गाउँपालिकामा राजश्वमा मात्र घाटा भयो, रक्सी बिक्रि बितरणमा कडाई गरिए पनि नियन्त्रण गर्न सकिएको छैन ।’
जिल्ला भरी नै रक्सीका कारण बालबालिका र महिलामा हुने बढी रहेको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय आदर्श गाउँपालिका मौवाका प्रहरी निरिक्षक बिरबहादुर बुढाऐरले भन्नुभयो, –‘हिसाका घटनाहरु प्रहरी एक्लैको सक्रियताले मात्र हटाउन सकिने बिषय होइन, समुदायको साथ र सहयोगले मात्र यो सम्भव छ । रक्सी सेवन गर्ने ब्यक्तिहरुलाई एकदुई दिन कारवाही गर्दैमा सेवन गर्न छोड्दैन । त्यसमा समाजको साथ चाहिन्छ ।’
रक्सीका कारण समाजमा नैतिकता समेत गुम्दै गएको छ । रक्सी सेवन गरी सकेपछि आमालाई आमा र श्रीमतीलाई श्रीमतीको रुपमा नदेख्ने ब्यक्ति धेरै रहेको बताउदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी सहायक निरिक्षक राम नाथले भन्नुभयो,– ‘समाजमा शान्ती सुरक्षा कायम रहन समाजका हरेका ब्यक्ति नैतिकवान हुन जरुरी छ, नारीको सम्मान बिना सभ्य समाजको कल्पना पनि गर्न सकिदैन ।’ पछिल्लो पटक सायल गाउँपालिकाले लैंगिक हिँसा बिरुद्ध बिभिन्न कृयाकलाप सञ्चालन गर्दै आएको छ । सायल गाउँपालिका उपाध्यक्ष बिष्णा सिंहले भन्नुभयो, – ‘अव गाउँपालिकावाट रक्सी बन्दको निर्णय गरेर मात्र खासै प्रभावकारी देखिएन, तुरुन्तै समुदाय स्तरमा जनचेतना मुलक कृयाकलाप पनि सञ्चालन गर्ने तयारीमा रहेका छौं ।’