logo
२०८१ मंसिर ११ मंगलवार

  एकान्तबासको समाजशास्त्र–६  



कमजाेर बन्दै गएको पारिवारिक संस्था बलियाे बन्दै

समाज |


कमजाेर बन्दै गएको पारिवारिक संस्था बलियाे बन्दै


शान्ति लामा
काठमाडौँ, बैशाख १० गते । अहिले संसारमा कुनै ठूलो लडाइँ चलिरहेको छ छैन, तर ‘युद्ध’ शब्द भने खुब प्रचलनमा छ । विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिएपछि विद्वानहरुले समेत कोरोनाविरुद्धको मानवसंघर्षलाई कोरोनाविरुद्धको युद्धको संज्ञा दिन थालेका छन् ।
समाजशास्त्री विष्णु बस्याल भन्नुहुन्छ, ‘यतिबेला संसार नै घरमा बसेर लड्ने युद्धमा छ । यो शब्द कठोर लागेपनि विश्वव्यापी पु¥याइरहेको क्षति हेर्दा कोभिड १९ विरुद्धको संघर्ष युद्धभन्दा कम छैन ।’
नेपालकै इतिहासमा विभिन्न पुस्ताले अनेक युद्ध देखेकै हुन् । पछिल्लो दशक मात्र दश वर्षे सशस्त्र राजनीतिक युद्ध देखेको पुस्ताको अर्काे युद्ध देख्नुपरेको छ, कोरोना भाइरसविरुद्ध युद्ध ।
यो संक्रमण रोक्न गरिएको बन्दाबन्दी सबैका लागि धेरैका लागि सास्ती भएको छ । सास्तीबीच पनि मानिसले परिवारसँग धेरै समय बिताउन पाउनु भने सकारात्मक पक्षको रुपमा लिनुहुन्छ, समाजशास्त्री बस्याल ।
उहाँ भन्नुहुन्छ, ‘कामकाज बन्द गरी घरमै बस्नुपर्दा मानिस केही अप्ठेरो त भएको छ तर मानिसहरु परिवारसँग समय बिताइरहेका छन्, टाढा रहेका परिवार आफन्तलाई फोन गरी हालखबर लिइरहेका छन् । यो लकडाउन कमजोर बन्दै गइरहेको परिवारिक संस्थालाई मजबुत हुने अवसर पनि बनेको छ ।’ उहाँका अनुसार सन्त्रासबीच पनि परिवारमा बस्न पाउँदा परिवारमा सञ्चार भएको छ । परिवारका सदस्यहरु एकअर्काका लागि साहारा बनिरहेका छन् ।
उहाँ भन्नुहुन्छ, ‘दुःख गरेरै भए पनि गाउँ पुगेकाले घरमा खेतीपातीमा सघाएका छन् । सायद धेरैले खेतीपाती नै बाँच्ने आधारभूत कुरा रहेछ भन्ने कुरा मनन गरे होलान् ।’ यो अवसरलाई सरकारले पनि नागरिकलाई दीर्घकालीन रुपमा कृषि क्रान्तिका लागि तयार बनाउन उपयोग गर्नुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।
यतिबेला समाजको सबैभन्दा विपन्न वर्गले भने दुःख पाइरहेको समाजशास्त्री बस्यालको ठहर छ । भन्नुहुन्छ, ‘दैनिक ज्यालादारी गरी खानेका दुःख यतिबेला राजमार्गमा हिँडिरहेको ताँतीमा देखिएको छ । धेरैको रोजगारी खोसिएको छ, रोजगारी नहुँदा गाँस बन्द भएको छ । त्यसैले सहरबाट मानिसहरु बाँच्ने आशा बोकेर गाउँ पस्न थालेका छन् ।’ तर यस्तो बेला नेपालीबीच एकअर्काप्रतिको सहयोगलाई भने बिर्सन नहुने उहाँको तर्क छ । हुनेखाने वर्गले अप्ठेरो परेकालाई गरेको सहयोग गरिरहेका छन् । ठाउँठाउँमा खानेकुरा, जुत्ताचप्पल दिएर पैदलयात्रीलाई सहयोग गर्नु सद्भावको नेपाली परम्पराको निरन्तरता रहेको उहाँको भनाइ छ ।
कोरोनाविरुद्धको यो संघर्ष सरकार, प्रतिपक्ष, निजी क्षेत्र, नागरिक समाज सबै मिलेर सफल पार्नुपर्ने समाजशास्त्री बस्याल सुझाव दिनुहुन्छ । सरकारले नागरिकमा सकारात्मकता सञ्चार गराउने खालका कदम चाल्नु आवश्यक रहेको उहाँको भनाइ छ । अर्थतन्त्र र जनजीवन नै अस्तव्यस्त बनाउने गरी भएको लकडाउनको बेला मानिसमा वितृष्णा आउन सक्छ । त्यसको उचित व्यवस्थापन अहिले सरकारको प्राथमिकतामा पर्नुपर्ने उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?