स्याङ्जा, बैशाख १७ गते । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले युवकको हत्यामा जन्मकैदको सजायँ तोकिएका फरार प्रतिवादीलाई ४१ बर्ष पछि पक्राउ गरेको छ ।
२०३३ साल बैशाख २ गते चापाकोट ८ मा चैते दशैको पूर्णिमा मेला हेर्न आएका भारतीय सेनामा कार्यरत २४ बर्षिय जीत बहादुर रानाको हत्यामा संलग्न ६७ बर्षिय डिल्ली बहादुर घर्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
घर्ति घरमा लुकिछिपी बसेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको प्रनाउ नबिन कृष्ण भण्डारीले जानाकारी दिनुभयो । उहाँले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला अदालत स्याङ्जा पेश गरिएकोमा सजायँ भुक्तानको लागि जिल्ला कारागार स्याङ्जामा चलान भएको बताउनुभयो ।
निर्घात कुटपिट गरी कालीगण्डकी नदिमा फाली बेपत्ता बनाएकोमा घटनाको ३ दिन पछि कालीगण्डकी नदीमा रानाको शब फेला परेको थियो । शब फेला परेपछि मृतकका जेठा दाजु दल बहादुर रानाले कर्तब्य ज्यान शीर्षकमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा १३ जना बिरूद्ध किटानी जाहेरी दर्ता गराएकोमा घटनाको अनुसन्धान पश्चात २०३६ माघ १७ गते सम्पूर्ण प्रतिवादीहरूलाई कसूरदार ठहर गरी जन्मकैदको फैसला भएको थियो ।
२०३९ कार्तिक २४ गते क्षेत्रीय अदालतले जिल्ला अदालत स्याङ्जाकै फैसला सदर गरेको थियो भने २०४० माघ ८ गते सर्वोच्च अदालतले जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरी प्रतिवादीलाई जन्मकैदको सजायँ तोकिएका थियो ।
घटनामा संलग्न तिन जनालाई यसअघि नै प्रहरीले पक्राउ परी सजाय भोगेका छन भने बाकी भारत लगायतका देशमा लुकिछिपी बस्दै आएका छन् ।