logo
२०८१ मंसिर १२ बुधवार



अलपत्र महिलाको उद्धार

समाज |


अलपत्र महिलाको उद्धार


सुर्खेत, वैशाख १९ गते ।  कर्णाली प्रदेश सरकारले अलपत्र महिलाको उद्धार गरेको छ । तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीया नानी नेपालीलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्धार गर्नुभएको हो । बिहीबार दिउँसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला निवासी एक महिलाले रुँदै श्रीमान्ले अर्को विवाह गरेर हिँडेको र आफू बिचल्लीमा परेको भनी भिडियो सार्वजनिक हुने बित्तिकै मन्त्री भण्डारीले उद्धारका लागि खटाउनुभएको थियो ।

नेपाली वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक सुर्खेतमा सडकपेटीमा आश्रय लिएको अवस्थामा भेटाइएको कानूनमन्त्री भण्डारीले बताउनुभयो । उहाँले चार हजार घरभाडा सहयोग पनि गर्नुभएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटिएको उद्धारा गएका मन्त्री भण्डारीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

श्रीमान् निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आउनुभएको थियो । “श्रीमान्ले तिमी बिरामी छौँ, सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा रु पाँच लाख ऋण झिकेको रहेछ”, नेपालीले भन्नुभयो, “त्यसको अहिलेसम्म ब्याज नतिरी अर्की महिला लगेर उतै बसेको छ भन्ने खबर पाएँ । बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकाी हुँ ।”

उद्धार गरिएकी नेपालीलाई सकेसम्म आजै जुम्ला पठाइनेछ । नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?