प्युठान, वैशाख २२ गते । यहाँ किसानले ठिमाहा र कमसल धानको बीउ राख्न थालेका छन् । बन्दाबन्दीले सिँचाइका लागि कुलो खन्नेदेखि धानको बीउ राख्ने समय सकिन थालेपछि हतारमा किसानले बीउ राख्न थालेका हुन् ।
गत वर्ष वैशाख ५ गते बीउ राखेर जेठ ८ गते रोपाइँ गर्नुभएका प्युठान नगरपालिका–७ टिकुरीका कृषक कर्णबहादुर झाँक्री बन्दाबन्दीले उन्नत बीउको अभाव भएपछि ठिमाहा बीउ राखिएको बताउनुहुन्छ । नौबहिनी गाउँपालिका–३ खवाङ घर भई टिकुरीमा अँधियामा खेती गर्दै आउनुभएका झाँक्रीले वजारमा रहेका एग्रोभेटमा पटक पटक धाउँदा पनि उन्नत बीउ नपाएको गुनासो गर्नुभयो । ‘एग्रोभेट र स्थानीय तहमा बीउ पाउने कुनै सम्भावना छैन’, झाँक्रीले भन्नुभयो, ‘बन्दाबन्दी भनेर खेत खाली राख्नुभएन, दूरी कायम गरेर खेतीपाती त गर्नैप¥यो ।’
उत्पादनका हिसाबले ठिमाहा धान बढी उत्पादन भए पनि सस्तो, पोषिलो र स्वादिलो मानिएको छ । जिल्लामा उन्नत जातको धानको माग बढी हुने गरेको एग्रोभेट सञ्चालक बताउँछन् । ती जातका धानमा राधा ७, राधा ९, राधा १४ र सावित्री धानको माग बढी हुन्छ । उन्नत जातको धान नपाइएपछि केही कृषकले रैथाने पुरानो बीउ, ठिमाहामा शंकर यूएस ३०५ र यूएस ३१२ धानको बीउ राखेको प्यूठान– ८ खपे्रङखोलाका पृथ्वी एग्रोभेट सञ्चालक वासुदेव थापाले जानकारी दिनुभयो ।
प्यूठानमा जेठमा रोपिएको धान असोजमा पाक्छ । सिंचाइ र उर्वरताको हिसाबले झिमरुक फाँट प्यूठानकै महत्वपूर्ण मानिन्छ । जिल्लामा धान मात्रै होइन उन्नत जातका मनकामना १, मनकामना ३ , देउती र अरुण २ मकैको समेत अभाव भएको छ । कृषकले थोरै मात्रामा रहेको ठिमाहा डिएम एच ४८९ र कञ्चन १०१ बीउ रोप्न थालेका हुन् ।
पचास प्रतिशत अनुदानमा उन्नत धानको बीउ माग गर्न आह्वान गरिए पनि माग थोरै आएको प्यूठान नगरपालिका कृषि एकाइ प्रमुख मेघराज पोख्रेलले जानकारी दिनुभयो । किसानबाट ती क्विन्टल मात्रै धानको बीउ माग भएको पोख्रेलको भनाइ छ ।
जिल्लाभर २२ हजार हेक्टर खेतीयोग्य भूभागमध्ये ६ हजार ५२५ हेक्टरमा धान खेती गरिन्छ । योमध्ये आधा हिस्सा ओगट्ने उर्वर भूमि नगरपालिकाको फाँटमा उन्नत जातको बीउ माग हुने गरेका कारण ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको छ । नगरपालिकाले माग आह्वानमा ढिलाइ गरेका कारण पनि ठिमाहा र कमसल धानलाई बीउका रुपमा प्रयोग गरिएको तर्क प्यूठान– ६ माझकोटका कृषक गगनसिं गुरुङको छ ।
मूल बीउ ६ मेट्रिक टन वितरण गरिइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत तथा निमित्त कार्यालय जनाएको छ । जिल्लामा प्रतिहेक्टर ४० देखि ५० केजी बीउ आवश्यक पर्छ । कार्यालयले उन्नत बीउ उत्पादनका लागि मूल बीउ सहयोग गरेको हो । जिल्लाका पाँच स्थानीय तहका २४ वडामा रहेको दुई हजार ७७४ हेक्टरमा परियोजना सञ्चालन भइरहेको छ ।