logo
२०८१ मंसिर १२ बुधवार



पानीले कुहाउन थाल्यो किसानको घाँस

समाज |


पानीले कुहाउन थाल्यो किसानको घाँस


सन्तोष अधिकारी

नारायणपुर, जेठ २ गते । दाङ जिल्ला, घोराही उपमहानगरपालिका–६ का सन्ते चौधरी फागुनदेखि लगातार परेको वर्षाले घाँस स्याहार्न नपाउँदा चिन्तित देखिनुहुन्छ । उहाँले बीउ उत्पादनका लागि एक बिघा जमीनमा बर्षिम जातको घाँसको खेती गर्नुभएको छ ।
“खेतमा घाँस पाकेर काट्नको लागि तयार छ । पाकेको घाँस पानीले खेतमै कुहिने भयो, लकडाउनले गर्दा समयमा श्रमिक नपाएर काट्न पनि सकिएन”, चौधरीले भन्नुभयो । घोराही ६ का किसानले घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । नगदेबाली मसुरोखेतीभन्दा बर्षिम घाँस खेतीबाट आम्दानी धेरै हुने भएपछि धेरै किसान यसतर्फ आकर्षित भएका हुन् । “गत वर्ष पचास हजारको घाँस बिक्री गरेको हुँ, यस वर्ष पानीले स्याहार्न नै नपाइने भयो”, चौधरीले भन्नुभयो ।
मसुरो, गहुँभन्दा राम्रो आम्दानी हुने भएकाले धेरैले घाँस खेती गरेको अर्का किसान नमराज अधिकारीले बताउनुभयो । “गत वर्ष घाँसको बीउ उत्पादन राम्रो भएको थियो, मैले ८४ हजारको घाँस बीउ बिक्री गरेको थिएँ”, अधिकारीले भन्नुभयो ।
घाँसको पकेट क्षेत्र घोराही ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँमा किसानले बर्षिम घाँसखेती गर्दै आएका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक संघका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । हरियो र सुकेको बर्षिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ ।
घोराही ६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघामा घाँस खेती गरेका छन् । उक्त वडामा एक सय हेक्टर जमीनमा बर्षिम घाँसको खेती गरिएको अधिकारी बताउनुहुन्छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खेतमा पाकेर काट्न ठीक्क परेको घाँस बेमौसमी वर्षाले कुहाउन थालेपछि सम्पूर्ण किसानको मनै खिन्न भएको छ । पानीका कारण कतिपय किसानले घाँस काट्नसम्म पाएका छैनन् । काटेको पनि स्याहार गर्न नपाउँदा खेतमै कुहिने र झर्ने अवस्था छ । घाँसका लागि लगानी कम गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसानब बढ्दै गएका छन् ।
दाङकै दंगिशरण गाउँपालिका ३ हेकुलीमा पनि बर्षिमको बीउ उत्पादन हुने गरेको छ । त्यहाँका किसानले पानकिा कारण यस वर्षको घाँस स्याहार्न नपाउँदा कुहिने अवस्थामा पुगेको छ । हेकुलीका किसान रामवीर चौधरीले दुई बिघा जग्गामा लगाएको घाँस अहिले कुहिने अवस्थामा पुगेको छ । “मसुरो, गहुँभन्दा राम्रो आम्दानी हुने भएकोले धेरै घाँस खेती गरेको थिएँ तर पानीले स्याहार्न पाएको छैन”, चौधरीले भन्नुभयो । गत वर्ष घाँसको बीउ उत्पादन राम्रो भएकाले अहिले धेरै खेतमा लगाएको घाँस खेर जाने अवस्था आएको उहाँले बताउनुभयो । “गत वर्ष मैले एक लाख रुपियाँको घाँस बीउ बिक्री गरेको थिएँ”, चौधरीले भन्नुभयो ।
उक्त ठाउँका किसानले उत्पादन गरेको बीउ जिल्लाका पशुसेवा शाखाले खरीद गरेर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्दै आएका छन् । दंगिशरणका ५० कृषकले उक्त घाँसको बीउ उत्पादन गर्दै आइरहेको पशुसेवा शाखाका अधिकृत एकराज सुवेदीले जानकारी दिनुभयो । पालिकामै खपत नभएमा तुलसीपुरका एग्रोभेटमा सम्पर्क मिलाइदिने कामसमेत शाखाले गर्दै आईरहेको छ ।
शिवशक्ति घाँसको बीउ उत्पादक संघले किसानको घाँस जम्मा गरेर बिक्री गर्दै आएको छ । व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला भएको संघको जिकिर छ । जिल्लाका अन्य क्षेत्रमा घाँसखेती गरिए पनि बीउ उत्पादन भने नहुने गरेको पशु ज्ञानकेन्द्र दाङले जनाएको छ ।
घोराही ६ का किसानले २०५६ सालदेखि घाँस खेती शुरु गरेका हुन् । यसपालि घाँसको बीउको २५ देखि ५० प्रतिशतसम्म उत्पादन घट्ने संघका सचिव अधिकारीको भनाइ छ । घाँसको पकेट क्षेत्रका रुपमा विकसित हँुदै आएको सो क्षेत्रका सम्पूर्ण किसानलाई पानीका कारण चिन्तित हुनुपरेको छ । अन्य जिल्लामा यसको बीउ उत्पादन नहुने भएकाले दाङबाट अन्य जिल्लामा मागअनुसार बीउ पु¥याउने गरेको सचिव अधिकारी बताउँछन् ।
बीउ उत्पादनका लागि दाङको वातावरण उपयुक्त भएकाले अन्य जिल्लामा बीउको उत्पादन नभएको उहाँको जिकिर छ । कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् भने बीउ उत्पादक संघले सरकारले निर्धारण गरेको रु २५० अनुसार नै बिक्री गर्ने गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?