लक्ष्मण दर्नाल
काठमाडौँ, जेठ ५ गते । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा वृद्धि भएको छ । गत चैत २३ गतदेखि जेठ २ सम्मको ४० दिनमा दलित समुदायमाथि १० वटा छुवाछूतका घटना भएका छन् ।
दलित गैरसरकारी संस्था महासङ्घले बन्दाबन्दीको अवधिमा जातीय भेदभावका घटना बढेको जनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले लकडाउन सुरु भएपछि जात(ीय भेदभावका घटना बढेका छन्, केही घटना राहत वितरणमा भएका छन् भन्नुभयो ।
गत चैत २३ गते स्याङ्जा चापाकोट नगरपालिका मोहमीका सुमन विक राहत लिन जाँदा कुटिए । नगरपालिकाका प्रमुखसहित राहत वितरण गर्न गएको समूहले उनीमाथि कुटपिट गरेको थियो । घटनाको स्थानीय तहमै मिलापत्र गरियो ।
पोखरा लेखनाथ महानगरपालिका १६ का सम्मरबहादुर सुनारको दुबईमा निधन भएपछि काजकिरिया गर्न चैत २६ गते बाटुलेचौरको गैह्राखोरको सार्वजनिक किरियापुत्री भवनमा जाँदा मोहन सुनारलाई प्रवेश दिइएन । दलित भएकै कारण महानगरपालिकाको समेत लगानीमा बनेको सार्वजनिक भवन प्रयोग गर्न दिइएन । घटनाका दोषी रामबहादुर विसी, जनक थापा र देवबहादुर थापालाई जनही एक लाख ७० हजार रुपियाँ धरौटीमा रिहा गरिएको छ ।
जाजरकोट जुनिचाँदे गाउँपालिका २ मजकोटका वडाध्यक्ष रामबहादुर नेपालीमाथि वैशाख ९ गते वडामा राहत वितरण गर्ने क्रममा कुटपिट भयो । उनीमाथि वडाध्यक्ष भएँ भन्दैमा राहत बाड्दै हिँड्ने भनेर कुटपिट भयो । दोषी जयबहादुर नाथ, विर्खे नाथ, महेन्द्र नाथ, सुरेन्द्र नाथ, नर नाथ, रेशमबहादुर नाथ र धनबहादुर नाथ एक लाख १० हजार रुपियाँ एकमुष्ट धरौटी तिरेर रिहा भए ।
दलितसँग विवाह गरेकै कारण पाल्पाको बगनासकाली १ चिर्तुङधाराका पूर्णमान श्रेष्ठले वैशाख २६ गते निधन भएकी आमालाई दागबत्तीसमेत दिन पाएनन् । आमाको पार्थिव शरीरलाई छुन दिइएन । किरिया पनि अलग्गै बस्नुप¥यो ।
गुल्मी कालीगन्डकी गाउँपालिका फोक्सिङका श्याम परियार वैशाख २२ गते पानी परेपछि स्थानीय नेत्रबहादुर काउछाको घरमा ओतिन बसेका थिए तर काउछाले घरमा दलित प्रवेश गरेको भनी स्थानीयको रोहवरमा घर चोख्याउन १५ सय रुपियाँ जरिवाना तिराए । त्यस्तै, काभ्रेको खानीखोला गाउँपालिका ५ तालढुङ्गाका विनोद नेपालीमाथि जातीय आधारमा गालीगलौज र कुटपिट भयो । सोलुखुम्बु, सोलुदूधकुन्ड नगरपालिका ११ का मीनबहादुर नेपालीमाथि वैशाख २९ गते जातीय विभेद भयो ।
यसैबीच दलित युवतीमाथि मोरङमा दुई र धनकुटामा एक बलात्कारको घटना भएको छ । दिनानुदिन भइरहेका घटनाप्रति नागरिक समाज, दलित नागरिक सङ्घ संस्था तथा राजनीतिक दलका दलित भ्रातृ सङ्गठनले विरोध गरेका छन् ।