मनोज भट्टराई
ओखलढुङ्गा, जेठ २३ गते । एक महिनाअघि चम्पादेवी गाउँपालिकाका १६ वर्षमुनिका एक बालकले बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको भन्दै उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि मुद्दा दायर गरेर बाल सुधारगृहमा राखिएको छ । त्यस्तै, गत जेठको पहिलो साता बाल यौन दुर्व्यवहार गरेको आरोपमा मानेभञ्ज्याङ्ग गाउँपालिकाका एक पुरुषलाई पनि पक्राउ गरी मुद्दा चलाइएको छ । उनले आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
कोरोना सङ्क्रमणकाे त्रासमा सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै जिल्लामा महिला हिंसाका घटना बढन थालेको जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाको तथ्याङ्कमा उल्लेख छ । प्रहरीमा घरेलु हिंसापीडित महिलाहरू उजुरी लिएर आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाका अनुसार बन्दाबन्दीको समयमा चैत्र ११ गतेदेखि हालसम्म ओखलढुङ्गामा ११ वटा महिला हिंसाका घटना दर्ता भएका छन् ।
हिंसामा परेका महिलाले घर परिवारका सदस्यबाटै हिंसा भोग्नु परेको उजुरीमा बताउने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा आएका ११ मध्ये नाै वटा घरायसी उजुरीलाई मिलापत्र गरेर पठाइएको छ भने बाँकी दुई वटा उजुरीउपर मुद्दा दायर गरिएको छ । प्रहरी निरीक्षक मिलनसिंह बस्नेतका अनुसार दुई मुद्दाबाहेकका अरु मुद्दा घरायसी रहेका र मिलापत्रपश्चात पठाइएको छ ।
प्रहरीले त्यस्ता घटनालाई पीडित र पीडक दुवै पक्षलाई झिकाएर सकेसम्म मिलापत्र गरेर पठाउने गरेको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार लकडाउनको समयमा हिंसापीडित नागरिक रिपोर्ट गर्न प्रहरीसमक्ष आउन सकेका छैनन् । गाउँघरमा हिंसापीडित नागरिकहरू बढिरहेको भएपनि गाउँमै मिलापत्र हुने गरेको उहाँको अनुमान छ । यसअघिको तथ्याङक अनुसार जिल्लामा महिला हिंसाका घटनाहरू उल्लेख्य हुने गरेका छन् ।
लकडाउनको अवधिमा महिला तथा बालिका हिंसाका घटना बढिरहेको महिला अधिकारकर्मी पेमाडोमा शर्पाले बताउनुभयाे । गाउँघरमा हिंसाका घटना बढिरहेको भए पनि प्रहरी तथा सबन्धित निकायसम्म कम मात्रै आउने गरेको उहाँको आङ्कलन छ । पछिल्लो तथ्याङ्क अनुसार धेरै हिंसापीडित महिलाहरू आफूहरूको सम्पर्कमा आएको उहाँको भनाइ छ ।