हुम्ला समाचारदाता
सिमकोट, जेठ २६ गते । लामो समयदेखि नेपालगञ्जमाा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरूलाई आजबाट हवाई मार्गबाट ओसार्न सुरु गरिएकाे छ । जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको समन्वयमा ती नागरिकहरूको हवाई उद्धार सुरु गरिएकाे हो ।
दुई हप्ताअघि पीसीआर परीक्षण गरेर नेपालगञ्जमा रहेका नागरिकको हवाई मार्गबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । हुम्लाका लागि पहिलो उडान तारा एयरले २१ जना यात्रु बोकेर गरेको छ । यो क्रम जारी रहने तारा एयर सिमकोट स्टेसनले जनाएको छ । यसअघि गत वैशाख २० र २१ गते हवाई मार्गबाट उद्धार गरिरहेका बेला नेपालगञ्जमा कोरोना पुष्टि भएपछि २२ गतेबाट अलपत्र यात्रु ओसार्न रोकिएको थियो ।
नेपालगञ्जमा ३२० जना हुम्लावासी पीसीआर गरि रिपोर्ट नेगेटिभ आएका नागिरकहरू हुन् । उनीहरूलाई तारा, सीता र समिट एयरले उडान भर्नेछन् । त्यसैगरी माथिल्लो हुम्लाकै सुर्खेतमा रहेका दुई जना हुम्लावासीको पनि आरडिटी परिक्षण गरी हुम्ला ओसार्ने तयारी भइरहेको छ ।
काठमाडौँबाट पनि ४६५ जना हुम्लावासीले पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुँदा उद्धार गर्ने तयारी भइरहेको छ । निजी हवाई कम्पनीहरूले पीसीआर रिपोर्टका आधारमा मात्र यात्रु ओसार्ने जनाएको छ ।