logo
२०८२ असार ८ आईतवार



मकैबालीमा फौजी कीराको आक्रमणले किसान चिन्तित

समाज |


मकैबालीमा फौजी कीराको आक्रमणले किसान चिन्तित


हिमलाल पराजुली

स्याङ्जा, जेठ २८ गते । मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका किसान चिन्तित बनेका छन् । दुःख गरी लगाएको मकैबालीमा फौजी कीराले क्षति पुर्याएपछि यहाँका किसान चिन्तित बनेका हुन् । मकैको गुवा र पात फौजीकीराले काटेर सखाप पारेपछि किसानले यस कीराको नियन्त्रण र रोकथामका उपायको खोजीमा छन् । वालिङ नगरपालिका–१० का कृषक शङ्कर विकले खेतबारीमा लगाएको मकै अमेरिकन फौजीकीराले काटेर सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “दिनमा भन्दा रातिमा यो कीराले धेरै बाली नष्ट गर्दाेरहेछ ।” उहाँले दुःख गरी लगाएको खेतीमा यसरी कीराले काटेर क्षति पुर्याउँदा साह्रै दुःख लागेको बताउँदै अहिले बारीमा कीटनाशक औषधि राखेको छु, हेरौँ के हुन्छ' भन्नुभयो ।

वालिङ–१० का अर्की कृषक कोपिला विकको पनि गुनासो उस्तै छ । “दुःख गरी लगाएको खेती फल लाग्ने बेलामा कीराले काटेर सखाप पारेको छ”, उहाँले भन्नुभयो, “खेतबारीमा गएर हेरिसक्नु छैन । के गर्ने किसानलाई केही गरे पनि सुख छैन ।” खेती नलगाउँ भएको जमिन बाँझो हुने, दुःख गरेर लगायो भित्र्याउनै नपाइने यो किसानको पीडा कसले बुझ्ने भन्दै उहाँले प्रश्न गर्नुभयो ।

खेती लगाउँदा भएको खर्चसमेत नउठ्ने अवस्था आएको कोपिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवारले मात्रै काम गरेर खेती लगाउन नसकिने खेताला अनि खनजोतको खर्चसमेत नउठ्ने भएपछि खेतीपाती गर्न अब किसानलाई गाह्रो हुने भयो । किसानको मर्का बुझेर सरकारले सहयोग गर्नुपर्छ ।”

वालिङ–९ पिपलटारीकी पार्वती गैरेले अमेरिकन फौजीकीराले गर्दा अहिले किसानको निद्रा पर्न छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले आफूले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु बिक्री गर्न नपाएर चिन्तित बनेका किसानलाई अहिले फेरि फौजीकीराले पीडामाथि पीडा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको समयमा आफूले लगाएको खेतीमा फौजीकीराले क्षति पु¥याएपछि कतै खाद्यान्नको सङ्कट त पर्ने होइन भन्ने चिन्ताले यतिबेला कृषकलाई सताएको छ ।”

गल्याङ नगरपालिका–११ का सागर न्यौपानेले खेतबारीमा लगाएको मकैखेती अहिले फौजीकीराले काटेर सखाप पारेको बताउँदै यसको नियन्त्रण नभएमा किसानले अब खेती लगाउने अवस्था नरहेको बताउनुभयो । गल्याङ नगरपालिकाको पेलाकोट, बेलटारी, पिडिखोला, जिम्मालगायत ठाउँ र वालिङ नगरपालिकाको मोदिखोला, फूलबारी, पिपलटारी, फौदिखोलालगायत ठाउँमा हजारौँ रोपनीमा कृषकले लगाएको मकैबालीमा फौजीकीराले क्षति पु¥याएको छ ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिग्राम अधिकारीले जिल्लाको ११ वटै स्थानीय तहमा फौजीकीराको प्रकोप रहेको र यसको रोकथामका लागि सुरक्षित विषादी वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बालीभन्दा मकैबाली फौजीकीराले बढी मनपराउने भएकाले पनि मकैखेतीमा बढी क्षति पुर्याएको छ ।”

स्थानीय तहका कृषि शाखा प्रमुखहरुसँग फौजीकीराको नियन्त्रण र रोकथामका लागि जुममार्फत छलफल चलाएको बताउँदै लकडाउनका कारण विषादी आयात गर्न नपाउँदा पनि समस्या भएको प्रमुख अधिकारीको भनाइ छ । सुख्खा मौसममा यो कीराले बढी नोक्सान पु¥याउने भए तापनि यसपालि बढी वर्षा भएकाले केही हदसम्म क्षति पुग्नबाट थोरै भए पनि कम भएको प्रमुख अधिकारीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?