logo
२०८१ मंसिर १२ बुधवार

  बन्दाबन्दीको वनस्पति उद्यानमा प्रभाव  



फूल फुले, चराचुरुङ्गी रमाए, मानिस थुनिए, राजश्व गुम्यो

समाज |


फूल फुले,  चराचुरुङ्गी रमाए, मानिस थुनिए, राजश्व गुम्यो


यलु जोशी
ललितपुर, जेठ २८ गते । बन्दाबन्दीले सबैको जनजीवन प्रभावित भइरहेको समयमा ललितपुरका गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान पनि सुनसान छ । अवालेकनकर्ता र पिकनिक मनाउन आउनेको भिडभाड, जोडजोडले बजाइने म्युजिक नाचगान र एक प्रकारको कोलाहल छैन । उद्यानमा ढकमक्क फूल फुलेका छन् । चराचुरुङ्गी, कीटपतङ्ग, शान्त र प्राकृतिक वातावरणमा उनमुक्त रमेका छन् । हरियाली बढेको छ । बोटबिरुवा घाँस दुबो हलक्कै मौलाएका छन् । रुखका डालीमा चराचुरुङ्गीले गुँड बनाएका छन् । कतै बचेरा कोरलिएका छन् ।

एकातिर शहरका बासिन्दा घरमा उकुसमुकुस छन्, घरमै थुनिएका छन् । एकैछिन भए पनि उद्यानभित्र पुगेर प्रकृतिको घुम्टोमा लुक्न र रमाउने अवसर गुमेको छ।  त्यस्तै उद्यानले लाखौँको आम्दानी गुमाएको छ ।

दैनिक ठूलो सङ्ख्यामा मानिस आउने यो उद्यान विगतमा ३६५ दिन नै खुला हुन्थ्यो तर यो तीन महिनादेखि बन्द छ । मानिसको भिडभाड नभएपछि बोटबिरुवा राम्ररी हुर्कन पाएका छन् साथै बोटबिरुवामा नोक्सानी पनि नभएको राष्ट्रिय वनस्पति उद्यानका सूचना अधिकारी डा. मित्रलाल पाठकको बताउनुभयो ।

'वातावरण स्वच्छ भइरहेको छ तर राजश्व सङ्कलन भने बन्द भएको छ । पहिलेजस्तो बोटबिरुवामा खेलाँची गर्ने अवश्य पनि बन्द भएकाे छ', उहाँले भन्नुभयो, 'पहिले बोटबिरुवा भाँच्ने, फूलहरू टिप्ने गर्नाले बोट बिरुवा राम्रोसँग हुर्कन पाउँदैनथे । त्यो अहिले बन्द नै भएको छ । केही अवलोकनकर्ताले पातहरूमा लेख्ने, मनपरेको बिरुवा भाँच्ने तथा बोट नै उखलेर लग्ने जस्तो काम हुन्थ्यो । बिरुवाको महत्व बुझेकोहरूले पनि यस्तो कार्यहरू गर्ने गरेका छन् । अहिले सबै बोटबिरुवा सुरक्षित तरिकाले हुर्केन पाएका छन् ।'

“दुःखको कुरा मानिसले फूलसँग रमाउन पाएनन्, आगन्तुकहरूलाई स्वागत गर्न पाएको छैन्स । मा उद्यान निकै दुःखी छ ।” उहाँले थप्नुभयो
उहाँका अनुसार अरु दिनमा दैनिक तीन हजार देखि ३५ सयको मानिसको आउने गरेकोमा शनिबार र बिदाका दिनमा पाँच हजारसम्म पुग्ने गरेको तथ्याङ्क छ । उहाँका अनुसार मड्सिर, दसैँतिहार र चैतमा धेरै मानिसहरूको आगमन हुने गरेको र नयाँ वर्षमा ५० हजार भन्दा बढी मानिस एकैदिनमा गोदावरी घुम्न आउथे । तर यो वर्ष उद्यानले नयाँ वर्षमा पनि अवलोकनकर्तालाइ स्वागत गर्न पाएन ।

एक हजारभन्दा बढी प्रजातिको बोटबिरुवा, वनस्पति तथा फूलहरू रहेको उद्यानमा वार्षिक रुपमा दुई करोडभन्दा बढी राजश्व सङ्कलन हुनेगर्छ । 'दैनिक रुपमा चलचित्र, म्युजिक भिडियोको छायाङ्कनले तथा फोटो सुट गर्नेका लागि धेरै राम्रो थियो तर बन्दाबन्दीले यो केही पनि भएन ।' डा.पाठकले भन्नुभयो ।

स्थानीय बासिन्दालाई बन्दाबन्दीले राष्ट्रिय वनस्पति उद्यानमा घाँस काट्न भने सजिलो भएको बताउनुहुन्छ । स्थानीय भक्तकुमारी थापा उद्यानमा गाईलाई घासँ काट्दै हुनुहुन्थ्यो । हाल ९१ वर्षीय उहाँलाई बन्दाबन्दीको कारण गाईवस्तुलाई घाँस पाउन सजिलो भएको अनुभव सुनाउनुहुन्छ ।

यस्तै घाँसको भारी बोक्दै आफ्नो गन्तव्यतिर जानुभएको गोदावरी मानडाँडाका राधा बस्नेतले पनि उद्यानमा घाँस र सुकेको हाँगाहरू प्रशस्तै पाइने जानकारी दिँदै अहिले काम गर्न सजिलो भएको बताउनुभयो ।
यस्तै उद्यानका हेरविचार गर्ने कर्मचारी रामप्रसाद बस्यालले आगन्तुक नआएको हुनाले बोटबिरुवा अझै राम्रो भएको जानकारी दिनुभयो ।
उहाँले बन्दाबन्दीले फूलहरू अझै राम्रो भएको अनुभव सुनाउनुभयो ।

उद्यानमा रैथाने तथा दुर्लभ बोटबिरुवाहरूको संरक्षण गरिनुका साथै स्थानीय तथा अरू मुलुकबाट ल्याइएका बिरुवाहरूको पनि संरक्षण गरिएको छ । यस उद्यानमा पुरानो प्रजातिका चिलाउने, कटुस र उतिसजस्ता बोटबिरुवाहरू पाइन्छन् ।

राष्ट्रिय वनस्पति उद्यान स्थापना गर्नुको प्रमुख उद्देश्य वनस्पतिको संरक्षण तथा अध्ययन अनुसन्धान गर्नु रहेको छ । यो पुरानो प्राकृतिक जङ्गलको रूपमा परिचित छ । राष्ट्रिय वनस्पति उद्यानमा पाइने मुख्य आकर्षणहरू जडीबुटी वाटिका, जैविक विविधता शैक्षिक उद्यान, ढुङ्गे वाटिका, रुख उन्यूमा विभाजन गरिएको छ ।

राष्ट्रिय वनस्पति उद्यानमा विशेष वाटिका छ । विशेष वाटिकामा मौसमी सदाबहार फूल, सुनाखरी, सिउँडी, पानीको फोहरा, लालीगुराँस, कञ्चन झर्ना, जापानी शैलीको वाटिका, दुर्लभ तथा लोपोन्मुख वनस्पति, लिली वाटिका, वानस्पतिक परिवार वाटिका, उष्ण प्रदेशीय घर, जलीय वनस्पति, गुलाफ वाटिका, मनास्लु घर, भिभिआइपी वृक्षरोपण क्षेत्र, जनजातीय वानस्पतिक वाटिका, सूचना केन्द्र रहेका छन् ।

डा.पाठकका वनस्पति उद्यान भनेको अध्ययन, अनुसन्धान गरी ज्ञान बटुल्ने ज्ञानभण्डार भएको बताउनुभयो । वनस्पति उद्यान केन्द्रलाई वनस्पतिसम्बन्धी ज्ञान दिने शैक्षिक केन्द्रको रूपमा चिनिन्छ ।
राष्ट्रिय वनस्पति उद्यानको अवलोकन गर्न आउने आगन्तुकलाई उद्यानको भ्रमण गर्न लगभग दुईदेखि तीन घण्टा हिँड्नुपर्ने हुँदा उनीहरू उद्यानमा शारीरिक व्यायामको लागिसमेत आउने गरेको कर्मचारी बस्यालले जानकारी दिनुभयो ।

यस्तै डा.पाठकले सौन्दर्यका पारखी आगन्तुकहरू उद्यानमा विशेष गरी पार्क भित्रको मौसमी र बेमौसमी फूल अध्ययन गर्न आउने गरेको बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?