logo
२०८१ मंसिर १२ बुधवार



नाबालक सुत्केरीलाई सहयोग

समाज |


नाबालक सुत्केरीलाई सहयोग



बेलिना थापा
लमजुङ, असार ६ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १३ वर्षकै उमेरमा सुत्केरी हुन बाध्य बालिकालाई सहयोग गरेको छ ।
इन्सेकले लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीमार्फत १० हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको हो । आफन्त र गाउँका स्थानीयले घर आउन रोक लगाएपछि बेँसीसहरको डेरामा बस्दैआएकी आमाछोरीलाई इन्सेकले सहयोग गरेको छ । इन्सेक प्रतिनिधि मजाकोटी, नेपाल बार एसोसिएसन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायतले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सुत्केरी आमाछोरीलाई लमजुङ उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष राजेश थापाले पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ । बेँसीसहर नगरपालिका, वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) लगायतको सहयोगमा डेरामा बस्दैआएका आमाछोरीको स्याहार बालिकाकी आमाले गर्दैआउनुभएको छ ।
बेँसीसहर नगरपालिकाकी बालिकाले जेठ २७ गते चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा शल्यक्रियाका माध्ययमबाट छोरी जन्माएकी छन् । छ दिन अस्पताल बसेर फर्केकी उनलाई गाउँलेले नआउन भनेपछि बेसीसहरमा डेरा लिएर बस्न बाध्य छन् । यसै वर्ष मात्र कक्षा ८ कक्षा उत्तीर्ण गरेकी बालिकाले आफ्नो जन्ममिति जन्मदर्ता र स्कुलमा २०६४ भदौ २३ गते रहेको बताएकी छन् ।
अस्पताल आउन भन्दै जेठ २५ गते बेँसीसहर आएका बालिकालाई अस्पतालले रिफर गरेपछि बेँसीसहर नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेर भरतपुर अस्पताल जाने व्यवस्था गरेको बेसीसहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले बताउनुभयो । बेसीसहर नगरपालिकाले डेराका लागि खर्चका लागि समेत सहयोग गरेको छ । उनीहरू जेठ ३२ गते भरतपुरबाट बेँसीसहर फर्केका हुन् । बालिकाले नातेदार नाता पर्ने एक जनाविरुद्ध जबरजस्ती करणी ऐनअन्तर्गत उजुरी दिएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?