logo
२०८१ मंसिर १३ बिहीवार



मनाङमा आइसोलेसन र क्वारेन्टाइन खाली

समाज |


मनाङमा आइसोलेसन र क्वारेन्टाइन खाली


मनाङ, असार १८ गते । हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन् ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताउनुभयो । एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताउनुभयो ।

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य कुनै पनि मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पिसीआर परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताउनुभयो ।

हालसम्म मनाङमा १६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ श्यया क्षमताको क्वारेन्टाइन र सात श्ययाको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टाइन अहिले खाली छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?