जनार्जन खत्री
सर्लाही, असार २३ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरस्थित प्रहरी चौकी गौरीशङ्करका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव पाँच हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले असई यादवलाई मङ्गलबार दिउँसो कार्यालयबाटै घुस लिएको रकमसहित रङ्गेहात पक्राउ गरेको हो । असई यादवले नियन्त्रणमा लिएको कागजात नभएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छुटाइदिने प्रयोजनमा घुस लिएको अख्तियारले जनाएको छ ।
यादवलाई थप अनुसन्धानका लागि मङ्गलबार अपरान्ह अख्तियारको बर्दिबास कार्यालय लगिएको छ । स्थानीय बासिन्दाले असई यादवले विभिन्न प्रयोजनमा घुस मागेर हैरान पार्नेगरेको गुनासो गर्दैआएका थिए ।
सर्लाहीमा यसअघि यही असार ९ गते चार हजार रुपियाँ घुस रकमसहित हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल पक्राउ परेका थिए ।