logo
२०८१ मंसिर १३ बिहीवार



संस्कृति जोगाउन दमकमा धिमाल सङ्ग्रहालय

समाज |


संस्कृति जोगाउन दमकमा धिमाल सङ्ग्रहालय


टीकाराम उप्रेती
झापा साउन १ गते । केही महिलाहरू मुस्लीले ओखलमा धान फल्र्दै गरेका छन् । एक जना वृद्धजस्तै देखिने पुरुष माछा मार्ने जाल बुन्दैछन् । कोही ढोलक बजाउदैँछन् । एउटा समूह कुकुरसहित सिकार बोकेर फर्कदैगरेको छ । एकजना वृद्धको जस्तो अनुहार झल्कने महिला हुक्का तानेर बसेकी छन् । सबैको अवस्था फरक फरक ढङ्गको छ । एक जना युवा आफ्नी प्रेमिकालाई केही मायाको सन्देश स्वरुप सगुन, पान, (कोशेली) दिँदैछन् ।

माथि उल्लेखित सबै प्रसङ्ग तस्विर हेर्दा नै छर्लङ्ग बुझ्न सकिन्छ । सबै प्रतिमा आफैँ केही कुरा बोल्न खोजेजस्तै लाग्छ । नबोली पनि आफ्नो विषयमा प्रतिमाले झल्काएका छन् । झट्ट हेर्दा सबैको अनुहारबाट नै कुन जातिको हो भन्ने सहजै अनुमान लगाउन सकिने खालका छन् ।

झापाको दमक-९ स्थित चकडपाडास्थित धिमाल संस्कृति सङ्ग्रहालयभित्र राखिएका धिमाल समुदायका प्रतिमाले यस्तै अवस्थाको सङ्केत गरिरहेका छन् । दमक नगरपालिकाले घोषणा गरेको प्रथम नागरिक धिमाल समुदायको जन्मदेखि मृत्युसम्मका सस्कार झल्कने प्रतिमा सङ्ग्रहालयमा राखिएका छन् । यही प्रतिमा हेरेर अध्ययन गर्दा धिमाल जातिको सस्कार प्रस्ट बुझ्न सकिन्छ ।

धिमाल जातिको विषयमा अध्ययन, अनुसन्धान, खोज, जानकारी एकै थलोबाट गर्न सकिने उदेश्यले सङ्ग्रहालय निर्माण गरिएको हो । यहाँ यो जाति समुदायमा बच्चा जन्मदा गरिने जन्म संस्कारदेखि किशोर हुँदै युवा अवस्थाको जानकारीसमेत दिने गरी प्रतिमा नै निर्माण गरिएको छ । बच्चा जन्मनेबित्तिकै सुत्केरी आमालाई काग भलायोको दाउराको आगो तापाउने र कोइलाबाट बच्चा तेल लगाएर सेकाउने गरेको दृश्यसमेत यसैमा समेटिएका छन् । यस्तै युवा अवस्थामा पुगेपछि वैवाहिक विधिमा बाँधिने प्रकृया मेला बजार केटाकेटी हेर्ने र त्यही विवाहको कुरा छिन्ने प्रकृयासमेत यही गरिन्छ । यी सबैकोे सन्देश यही प्रतिमाबाट दिन खोजिएको छ ।

त्यस्तै परिवार मिलेर जङ्गलमा सिकार खेल्न जाने मारेर ल्याएको सिकार पूजापाठ गरी जल, जमिन, हावा, पानीजस्ता प्रकृतिलाई चढाएर खाने गरेको पाइन्छ । यस्तै एउटा जातिको सम्पुर्ण परम्परा संस्कृतिलाई एकै स्थानमा सङ्कलन गरी प्रस्तुत गरिएको छ । स्थानीय र प्रदेश सरकार लगायतका विभिन्न दाताहरूबाट प्राप्त आर्थिक सहयोगबाट निर्माण गरिएको सङ्ग्रहालयमा अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी खर्च भइसकेको अध्यक्ष धिमालले जानकारी दिनुभयो ।

यसबाट यहाँ १८ वटा साना स्थायी स्टल निर्माण गरिएको छ । जहा यी प्रतिमा राख्ने योजना रहेको छ । यस्तै धिमाल जातिको परम्परागत घरदेखि यो समुदायले प्रयोग गर्ने कृषि औजार यन्त्रदेखि बाजागाजासमेत यहाँ राखिएको छ ।

आदिम कालमा धिमालका पुस्ता घुमन्ते जातिको रुपमा रहेका थिए । उनीहरू एक ठाउँमा खेती गर्ने र त्यहाँको बाली पाकेपछि अर्को स्थानमा खेतीयोग्य जमिन खोज्दै हिड्ने गरेको ऐतिहासिक तथ्यबाट बुझ्न सकिने धिमाल सस्कृति सङ्ग्रहालयका अध्यक्ष लोक बहादुर धिमाल बताउनुहुन्छ । धिमाल जातिको मुख्य पेसा कृषि नै थियो । खेती गर्ने, माछा मार्ने, शिकार खेल्न निक्कै कुशल रहने गरेको इतिहास छ ।

यसरी शिकार खेल्दै खेती योग्य जमिन खोज्दै जाँदा झापाको दमक ९ र ८ वडाको अधिकांश क्षेत्रमा आएर बसाेबास गर्न थालेको हुनसक्ने अनुमान धिमाल अगुवाहरूको छ । यो क्षेत्रमा राम्रो उब्जनी भएका कारण धिमाल जातिले स्थाई बसाेबास गरेको अनुमान गरिएको छ । दमक नगरपालिकाको पहिलो नगरसभाले धिमाल जाति दमक नगरपालिकाभित्रको पहिलो समुदायको रुपमा स्वीकार गरेर धिमाललाई प्रथम नागरिकको रुपमा घोषणासमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?