logo
२०८१ मंसिर १३ बिहीवार



पहिरोले गाउँ जोखिममा परेपछि गाउँपालिकामा महिलाहरूकाे डेलिगेशन

समाज |


पहिरोले गाउँ जोखिममा परेपछि  गाउँपालिकामा महिलाहरूकाे डेलिगेशन


हुम्ला समाचारदाता

सिमकोट, असार २ । जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँ पहिरोको उच्च जोखिममा परेपछि गाउँका महिलाहरू मिलेर गाउँपालिकामा डेलिगेशन जानुभएको छ । बर्सेनि बर्खायाम लागेपछि डर त्रासमा बस्नु परिरहेका बेला तीन दिन लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरो जान थालेपछि सुरक्षित बासको व्यवस्थाका गाउँपालिकामा डेलिगेशन जानुभएको हो ।

वडा सदस्य औकला सार्कीको नेतृत्वमा २२ जना महिलाहरू मिलेर ताँजाकोट गाउँपालिकामा सुरक्षित बासको व्यवस्थाका लागि डेलिगेशन जानुभएको हो । सदस्य सार्कीले वडा नम्बर ३ को उतिस्यानी गाउँको वरिपरि पहिरो जान थालेपछि गाउँलेको सुरक्षित बास बस्ने व्यवस्थाका लागि गाउँपालिकामा डेलिगेशन गएको बताउनुभयो । दैनिक पानी लगातार पर्ने भएको कारण गाउँले डर र त्रासका बीच बसिरहेको बताउँदै उहाँले सुरक्षित बासको व्यवस्था नभए कुनै दिन गाउँ सामूहिक चिहान बन्ने बताउनुभयो ।

डेलिगेशनमा जानुभएकी अर्की महिला धनमति सार्कीले पालिकाले बासको व्यवस्था नगरेसम्म पालिकामै धर्ना बस्ने बताउनुभयो । पानी पर्दा एक घर भत्किएको र गाउँको वरिपरि पहिरो जान थालेपछि गाउँ बस्न डराएको अवस्था छ । गाउँमा पालो हालेर पहिरो गए सूचना दिनका लागि पहरा बस्न गाउँलेले सुरु गरेका छन् । पानी पर्ने समय अझै बाँकी भएको कारण बेलैमा सम्बन्धित निकायलाई जानकारी गराएकोले व्यवस्था हुनेमा गाउँले आशावादी छन् ।

गाउँपालिका अध्यक्ष वागदल मल्लले तत्काल गाउँपालिकासँग कुनै उपाय नभए पनि पाल दिएर सुरक्षित स्थानमा बस्नका लागि व्यवस्था गर्ने बताउनुभयो । सो गाउँको बस्ती व्यवस्था गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले १५ लाख रुपियाँ बजेटको व्यवस्था गरेपनि सो खर्च हुन नसकेको बताउनुभयो । अध्यक्ष मल्लले गाउँमा पहिरो जान थालेपछि उक्त समस्यालाई लिएर कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्दा पनि कुनै सुनुवाई हुन नसकेको बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?