logo
२०८१ मंसिर १३ बिहीवार



सात करोड ठगेर फरार रहेका चन्दन समातिए

समाज |


सात करोड ठगेर फरार रहेका चन्दन समातिए


काठमाडौँ, साउन २ गते । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका-७, कृष्णमन्दिर बस्ने वर्ष २९ को चन्दन जिन्दललाई बिहीबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको छ ।

झापा, बारा, पर्सा, सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहानामा ठगी गरी फरार रहेको चन्दन जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैङ्किङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अभियुक्त चन्दन जिन्दलले आफूलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको उनले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरूबाट जम्मा सात करोड एकासी लाख बयालीस हजार ठगी तथा बैङ्किङ कसुर गरेको खुल्न आएको र अन्य कैयौँ व्यक्ति तथा उद्योगहरूमा गरेको ठगीको उजुरी आउने क्रममा रहेको । 

अभियुक्तले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूलाई विश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौँका व्यापारीहरूलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको र झापातिर जमिन र हार्डवेयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ । फरार अभियुक्त चन्दन जिन्दललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?