बेलिना थापा
लमजुङ, साउन ६ गते । मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना कार्यन्वयन व्यवस्थित गर्न जेठ मसान्तभित्रै भुक्तानी गर्ने गरी कार्यायोजना ल्याएको छ ।
असारमा विकास गर्ने परिपाटीलाई हटाउन गाउँपालिकाले भदौ महिनाभित्रै उपभोक्ता समिति गठन गरी अघि बढ्ने कार्यायोजना अघि सारेको हो । चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको कार्यलाई थप व्यवस्थित बनाउने, नागरिकले प्रत्यक्ष परिवर्तन र सुशासनको प्रत्याभूति गर्ने खालको काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सोमबार आर्थिक वर्ष २०७७/०७८ को पहिलो बैठक बसेर योजनालाई व्यवस्थित बनाउने निर्णय गरेको हो ।
उहाँका अनुसार योजनाको सम्बन्धमा तालिका बनाएर काम गरिने भएको छ । उपभोक्ता समिति गठनकार्य २०७७ भदौ मसान्तभित्रै सकाइने छ । कात्तिक ५ गतेसम्म उपभोक्ता समितिको तालिम सम्पन्न गरिने छ । पुष १५ गतेभित्र प्राविधिक स्टेमेट सम्पन्न गर्ने, माघ मसान्तमा योजना सम्झौता गरिसक्ने र २०७८ को वैशाख मसान्तसम्म योजना निर्माण कार्य सकाउने कार्य तालिका बनाइएको छ । योजनाको भुक्तानी २०७८ को जेष्ठ मसान्तभित्र गर्ने भएको छ ।
योजनाहरूको टेन्डर निष्कासन भदौ मसान्तसम्म गर्ने निर्णय भएको छ । प्राविधिकहरूको तालिम भदौ १५ गतेसम्म सम्पन्न गर्ने र अन्य पालिकाहरूसँग समन्वय गरिने अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार कुनैपनि सडक योजनाहरूको निर्माणमा जेष्ठ, असार, साउन र भदौ महिनामा मेसिन प्रयोग गर्न नपाईने निर्णय भएको छ । शाखा प्रमुखहरूको हरेक महिनाको २ गते नियमित मासिक बैठक आयोजना गर्ने जसमा अघिल्लो महिनाको प्रगति प्रतिवेदन र आउने महिनाको मासीक कार्ययोजना प्रस्तुत, छलफल र समीक्षा गर्ने निर्णय भएको छ ।
यस्तै २०७७ साउन २५ गते आर्थिक वर्ष २०७६/०७७ को समिक्षा बैठक आयोजना गर्ने निर्णय भएको छ । लोक सेवा आयोगबाट स्थानिय तहमा नियूक्तिको लागि सिफारिस भई आएका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन फारम स्वीकृत गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । बैठकमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडाध्यक्ष, शाखा प्रमुखहरूको उपस्थिति थियो ।