logo
२०८१ मंसिर १३ बिहीवार



महोत्तरीमा नेपाली सेनाद्वारा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन

समाज |


महोत्तरीमा नेपाली सेनाद्वारा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन
तस्विर सौजन्यः रणभीम गण, परिकौली


नगेन्द्रकुमार कर्ण

जलेश्वर, साउन ७ गते । महोत्तरी जिल्लामा कोरोनाबाट मृत्यु भएका एकजनाको शवलाई नेपाली सेनाले सदरमुकाम जलेश्वरको बेलाघाटको जग्गामा व्यवस्थापन गरेको छ ।

महोत्तरी गाउँपालिका–३, मडै घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरसबाट उपचारको क्रममा धरानमा मृत्यु भएपछि उनको शवलाई नेपाली सेनाले जलेश्वर नगरपालिका वडानं. १ बेलाघाटमा व्यवस्थापन गरेको हो । महोत्तरीमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

दुई हप्ताअघि स्वास्थ्य समस्या लिएर प्रादेशिक अस्पताल जनकपुर भर्ना भएका सो गाउँका वृद्धलाई साउन १ गते धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । दुई दिनअघि मात्रै उनको पीसीआर टेष्ट गरिएपछि कोरोना भएको पुष्टि भएको र मङ्गलबार राति मृत्यु भएको कोभिड-१९ महोत्तरीका फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँले केही दिनअघि मात्रै उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको एउटा कार्यक्रममा भन्नुभएको थियो ।

खेतमा काम गर्ने क्रममा पानीले रुझेपछि उनलाई रुघाखोकी लागेको थियो । परिवारजनले उनलाई कोरोनाको आशङ्कामा अस्पताल पुर्याएका थिए । त्यहाँ उनको स्वास्थ्य अवस्था बिग्रिँदैगएपछि थप उपचारको लागि धरान पठाइएको थियो ।

रणभीम गण परिकौलीका गणपति विदुर अधिकारीले जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र महोत्तरीले कोरोनाबाट मृत्यु भएकाहरूलाई बेलाघाटमा व्यवस्थापन गर्ने निर्णय गरेबमोजिम मङ्गलबार मृत्यु भएका उनको शवलाई बुधबार व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको असार २१ गते बसेको बैठकले शव व्यवस्थापन कार्यविधि २०७७ बमोजिम जलेश्वर नगरपालिका वडानं. १ बेलाघाटमा (जलेश्वर नगरपालिकाको डम्पिङ्ग साइट) मा कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?