यलु जोशी
काठमाडौँ, साउन १० गते । कोरोना सङक्रमणको महामारीको कारण बन्दाबन्दीको समयमा समाजसेवा गरेबापत हेमा मानन्धर तथा अशोककुमार श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ बाट सम्मानित हुनुभएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले द्वयलाई सम्मानित गर्नुभएको हो । मन्त्री गुरुङले उहाँहरूलाई खादा लगाएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
मन्त्री गुरुङले कोरोनाजस्तो महामारीको समयमा समाजसेवा गरिरहनुभएको श्रेष्ठ र मानन्धरलाई धन्यवाद दिनुभयो । उहाँले समाज र देशमा भएको समस्यालाई समाज सेवामार्फत धेरै कम गर्न सक्ने धारणा व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवामार्फत कदर गरेकाले वर्ल्ड बुक अफ रेकर्डलाई आफू र नेपाल सरकारतर्फबाट पनि धन्यवाद दिनुभयो ।
बन्दाबन्दीको समयमा उपत्यका तथा आसपासका जिल्लाहरूमा दैनिक ज्यालादारी तथा मजदुर कराँते खेलाडीका घर परिवारहरूलाई खाद्यान्न सहयोग वितरण गरेर समाजमा पुर्याएको योगदानको कदर गर्दै वर्ल्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार २०२० को पदवीबाट सम्मानित गरिएको हो ।
उक्त समारोहमा वर्ल्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले एसिया, अफ्रिका र युरोपसहित विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, साँस्कृतिक, साङ्गीतिकलगायत क्षेत्रहरूमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गर्दैआएको जानकारी दिनुभयो ।
मानन्धर नेप्लिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते सङ्घका अध्यक्ष हुन् । वर्ल्ड बुक अफ रेकर्ड विश्वव्यापी रुपमा रेकर्डहरू प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।