logo
२०८१ मंसिर १३ बिहीवार



रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचरसहित)

समाज |


रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचरसहित)
तस्विर–सुजन गुरुङ


यलु जोशी
काठमाडौँ, साउन १० गते । कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण रोकिएको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको मुर्तिलाई शनिबार १२ बजेर ५ मिनेटमा रथारोहण गरिएको छ ।
दैवज्ञ कीर्तिमदन जोशीले साउन १० गते शनिबार १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म अन्तिम रथारोहण गर्नुपर्ने साइत दिनुभएको हो ।


कोरोनाले नेपालकै सबैभन्दा लामो रथयात्रा नराम्ररी प्रभावित भयो । सुरुमा रथ नै बनाउन रोकियो । असार १० गतेदेखि रथ बनाउन थालियो तर रथयात्रा हुने वा नहुने अन्यौल कायमै रह्यो ।
बन्दाबन्दी केही खुकुलो भएपछि असार २४ गते रथयात्रा गर्ने मिति तोकियो तर, सँगसँगै स्थगित गर्ने निर्णय भयो । वर्षा र सहकालका देवताका रुपमा पुजिने करुणामय रातो मच्छिन्द्रनाथको पटक पटक गरी साउन ७ गते बुधबार पनि रथारोहण साइत गुठी संस्थानले स्थगित गरेको थियो । यो पटक पनि रथारोहणको शुभसाइत फेरी सूचना निकालेर सार्ने हो कि भनेर सबैजना अन्यौलमा थियो तर यो पटक भने करुणामयलाई रथारोहण गरियो जोशीले बताउनुभयो ।
उहाँले यो वर्ष अधिकामास अथवा मलमास रहेकोले त्यो महिनाअगावै रथयात्रा समाप्त गरी बुंग करुणामयलाई बुङ्गमति नै लानुपर्ने बताउनुभयो ।


मच्छिन्द्रनाथको रथ निर्माणमा सक्रिय बाराही नाईके दिलबहादुर बाराहीले भन्नुभयो, रथारोहणको लागि तःबहालमा एउटा पाटीमा राखिएको मच्छिन्द्रनाथलाई पुल्चोकमा ल्याउन दुई दिनदेखि तयारी अघि बढाइएको थियो ।
उहाँले मच्छिन्द्रनाथ राख्ने खट मिलाउने, रथको अघिल्लो पंक्तिमा धोमा राख्ने कार्यमा खटिएको जानकारी दिनुभयो ।
रथारोहण साउन १० गते शनिबार हालको महामारीको परिस्थितिलाइ पूर्णरूपमा पालना गर्दै गरेको बताउँदै नेपाल सरकारद्वारा जारी गरेको सबै स्वास्थ्य सुरक्षा नियमावलीअनुसार तथा सामाजिक दुरी लगायतको मापदण्डहरू पालना गर्दै रथारोहण गरेको पनि प्रष्ट पार्नुभयो ।


रथारोहण साउन १० गते नै हुने तर रथयात्रा हाललाइ भदौ १ गतेपछि हुने व्यहोरासहित एक विज्ञप्ति सार्वजनिक भएको थियो बाराहीले भन्नुभयो, 'देउताको रथारोहण गरेको चार दिनभित्र रथयात्रा गर्नुपर्ने परम्परालाई पनि हामीले बिर्सन हुँदैन ।' 
यस्तै, मच्छिन्द्रनाथ स्नानदेखि विधिपूर्वक गर्नुपर्ने कार्य निरन्तर दिँदै आइरहनुभएको पानेजु कपिलदेव बज्राचार्यले रथारोहण गर्नु नै पर्नेमा विशेष जोड दिँदै भन्नुभयो, ‘मच्छिन्द्रनाथलाई स्थान गराएदेखि धार्मिक गर्नुपर्ने कर्म संस्कार क्रमशः गर्दैआएका छौँ । रथारोहण भएन भने धार्मिक र तन्त्र साधनाअनुरुप विधि पूरा हुँदैन । त्यसैले रथारोहण गर्नुपर्दछ ।’
यसैगरी, मच्छिन्द्रनाथको रथयात्रा समयमा नभए भक्तपुर लग्ने पनि कुराहरू आइरहेको छ । अहिलेसम्म भक्तपुर लगेको इतिहास भने छैन । तर भक्तपुरका संस्कृतिविदले प्राचीन किंवदन्तीलाई आधार मानेर समयमा रथयात्रा नभए आफूहरूले मच्छिन्द्रनाथ र भोटोमा आफ्नो दाबी गर्ने बताएका छन् ।
संस्कृतिविद् ओम धौभडेलले दसैँको फूलपातीसम्म पाटनमा रथयात्रा नभए मच्छिन्द्रनाथ र भोटोमा भक्तपुरले दाबी गर्नुपर्ने बताउनुहुन्छ ।


धार्मिक मान्यताअनुसार पाटनमा समयमा रथयात्रा नभए भक्तपुरको अखण्डश्री महाविहार (अखः बाहः) मा राखिएको मच्छिन्द्रनाथको आमालाई भेटाउन र त्यहीँ भोटो देखाउनुपर्ने हुन्छ ।
रातो मच्छिन्द्रनाथ भक्तपुर लैजान सहज देखिँदैन । उहाँका अनुसार अहिलेसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा समयमा नभएर भक्तपुर लैजानुपरेको इतिहास भेटिएको छैन ।
त्यसैले अहिले पाटनले रातो मच्छिन्द्रनाथ भक्तपुरलाई जिम्मा दिने नै भयो भने पनि कसले त्यसलाई स्वीकार गर्ने ? भन्ने जटिल प्रश्न छ ।
धौभडेलले २०१८ सालमा रथयात्राको तयारी गरेपनि भोटो लिन को जाने भन्ने अन्योल भएको जानकारी दिनभयो ।


यद्यपि अहिले भक्तपुर र ललितपुरमा गुठी संस्थान छ, यसले पहल गरे हस्तान्तरण गर्न सकिन्छ । पाटनले रातो मच्छिन्द्रनाथको रथजात्रा समयमा गर्न नसके भक्तपुरवासीको नाताले दाबी गर्ने उहाँले बताउनुभयो ।
धौभडेल भन्नुहुन्छ, ‘किंवदन्तीले पनि पाटनमा जात्रा हुन नसके भक्तपुर लैजानुपर्ने बताएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?