logo
२०८१ मंसिर १३ बिहीवार



यार्साले बदल्यो दलितको जनजीवन

समाज |


यार्साले बदल्यो दलितको जनजीवन


शैलेन्द्र रोकाया
बझाङ, साउन १९ गते । खरले छाएका स–सना घरहरू । अस्तव्यस्त बसाइ । जताजतै फोहोरै फोहोर । कुरा आजभन्दा दश वर्षअघिकाे हो । सुर्मा गाउँपालिका–३, गैरीगाउँमा बसोबास गर्ने दलित समुदायको जीवनशैली परिवर्तन भएको धेरै भएको छैन । आजभोलि झट्ट हेर्दा यो गाउँ हुनेखानेको बस्तीजस्तै लाग्ने मात्र होइन, दुर्गम गाउँको सुगम बजारजस्तै पनि लाग्छ ।

यो गाउँमा बस्ने झण्डै पाँच सय परिवारहरू सबै दलित समुदायकै छन् । प्रायः सबै घरहरू सिमेन्ट लगाएका पक्की छन् । केही वर्षपहिला खरले छाएका घर भएपनि पछिल्लो समयमा भने सामान्य परिवारका घरहरू पनि पक्की सिमेन्टले निर्माण गरिएका एकदेखि तीन तलासम्मका छन् । ‘एक दशकअघि मात्रै यो सुर्मा गाउँपालिका –३, गैरीगाउँमा प्राय सबै दलितका घरहरू खरले छाएका एक तलेमा थिए,'  सुर्मा १ स्थानीय कलक बोहराले भन्नुभयो, आजभोलि त कसले पत्याउँछ र ?’ अहिले भने यो क्षेत्रका मानिसहरूको गाउँनजिकै रहेको हिमालको आसपासमा यार्सागुम्बा टिप्ने र सोहीबाट आम्दानी बढाएपछि दलित समुदायको जीवनस्तरमा सुधार आएको छ ।

पालिकाको सबैभन्दा बाक्लो दलित बस्ती रहेको गैरीगाउँका दलित समुदायले पनि यार्सा सङ्कलन र अन्य जडीबुटीको बिक्री गरेर आम्दानी गरेको रकमले पुराना खरले छाएका घरहरू हटाएर पक्की घरहरू निर्माण गर्ने काम दिन प्रतिदिन बढ्दो छ । दलित समुदायको घर आँगन र अन्य घरायसी व्यवस्थापनमा पनि सुधार भएको छ ।

कार्यपालिकाका सदस्य तथा गैरीगाउँका स्थानीय कलक विकले भन्नुभयो, ‘अहिले पनि खानलाई त प्रायः सबै दलित परिवारलाई समस्या नै हुन्छ तर घरको बनावट भने फेरिएको हुँदा गाउँको सुन्दरता बढेको छ । अधिकांश स्थानीयले यार्सा सङ्कलन गरेर दिने भन्दै ठेकदारहरूबाट पैसा सापटी मागेर घर निर्माण गरेको हुन् ।’ पछिल्लो समयमा मुक्त हलिया पुनः स्थापना कार्यक्रमबाट पनि यहाँका दलित समुदायले घर बनाउनका लागि रकम पाएको हुँदा यो रकमले पनि सहयोग गरेको उहाँको भनाइ छ ।

यसरी पक्की घर र जीवनशैलीमा परिवर्तन भएपछि समाजमा दलितहरूलाई हेर्ने दृष्टिकोणसमेत पहिलेको तुलनामा परिवर्तन भएकाे यहाँका दलित अगुवाहरूको भनाइ छ । यार्सा सङ्कलन हुनुअघि यहाँका ९० प्रतिशत स्थानीयहरू भारत गएर रोजगारी गर्ने गरेका भएपनि अहिले भने १० प्रतिशत मात्रै भारतमा रोजगारी गर्न जाने गरेका छन् भने बाँकी यही यार्सालगायत अन्य जडिबुटी सङ्कलन गरी आफ्नो जीविकोपार्जन गर्दैआएकाे स्थानीय अगुवा बताउँछन् ।

आफ्नो खेतीयोग्य जमिन कम भएका यहाँका दलित समुदाय अहिले पनि हलिया, खलिया प्रथाबाट खाने गुजरा गर्दैआएका छन् । यस वडामा दलित समुदायको बाहुल्य बढी हुँदा वडा अध्यक्षसमेत दलित समुदायकै रहेका छन् । पाँच सय घरधुरी रहेको यस गाउँमा पाँच सात परिवारको खरले छाएको घरहरू देखिन्छन् । भौगोलिक रुपमा विकट र दुर्गम, खाद्यान्न अभाव हुने सुर्मा गाउँपालिकामा गैर दलितहरूमा पनि घर पक्की बनाउने प्रतिस्पर्धा हुँदा यस क्षेत्रमा प्राय सबै घरहरू सिमेन्टेड र पक्की घरहरू रहेका छन् ।

सुर्मा गाँउपालिका क्षेत्रमा यसअघि पिछडिएको क्षेत्र भएको बताउँदै गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, 'विगत दश-बाह्र वर्षयता  यार्साको कारोबार साथै अन्य जडीबुटीको कारोबार हुन थालेपछि मान्छेहरूको जीवनशैलीमा पनि सुधार आएको हो । अहिले घरभित्र शाैचालय तथा नुहाउने छुट्टै कोठा छन् । सबैका घर घरमा पानीका धाराहरू, विद्युतले गाउँ झिलीमली हुनुका साथै सबै टोल बस्तीहरूमा सडक बाटो भएकाले अब केही गरी खाने मान्छेका लागि धरै अवसर भएकोसमेत उहाँले बताउनुभयो ।

ग्रामीण भेगका मान्छेहरूको पनि कतै न कतैबाट आर्थिक अवस्थामा सुधार भएपछि जिल्लाभरि देखिने परम्परागत पुराना खरले, स्लेटले छाएका घरहरू भत्काएर अहिले सुविधा सम्पन्न आधुनिक पक्की घरहरू बनाउने प्रचलन बढ्दो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?