logo
२०८१ मंसिर १३ बिहीवार



तनहुँमा बाख्रामा पीपीआर रोग  देखियो

समाज |


तनहुँमा बाख्रामा पीपीआर रोग  देखियो


अमरराज नहकी

तनहुँ, भदौ १ गते । तनहुँमा बाख्रामा पीपीआर रोग फैलिएको छ । रोगले बिरामी भएका बाख्राको मर्ने क्रम बढेको छ । शुक्लागण्डकी, भानु र व्यास गरी तीन नगरपालिकामा यो रोग फैलिरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

रैपिड पीपीआर एन्टिजेन टेष्ट किटबाट परीक्षण गर्दा बाख्रामा पीपीआर रोग पोजिटिभ देखिएको व्यास नगरपालिका पशु विकास शाखाका पशु विकास अधिकृत डा. मनोज विश्वकर्माले जानकारी दिनुभयो । डा. विश्वकर्माका अनुसार वडा नं. ११ को राटमाटा टोलमा रहेका एक बाख्रापालक कृषकको बाख्राहरूमा परीक्षण गर्ने क्रममा उक्त रोग लागेको पुष्टि भएको हो । बिरामी परेका बाख्रा मर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । व्यास नगरपालिका–१२, गोल्लाका कृषक गेमबहादुर थापा बाख्राहरू बिरामी परिरहेका र रोग नियन्त्रणमा नआउँदा कृषकहरू चिन्तित बनेको बताउनुभयो । आफ्नो १३ वटा बाख्रामध्ये तीन वटा बिरामी परेर छेरौटी लागेकाले र उक्त रोगको आशङ्का गरिएको उहाँले बताउनुभयो ।

उक्त रोगबाट शुक्लागण्डकी नगरपालिकाकाको वडा नम्बर ६ र २ मा गरी ८ वटा, व्यास नगरपालिका–११ मा एक वटा, भानु नगरपालिका–३ मा नाै वटा गरी १८ वटा बाख्रा मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । शुक्लागण्डकीमा नियन्त्रणमा आईसकेको रोग फेरी देखा परेको र आइतबार दुई थप बाख्रा मरेको डा. श्रेष्ठले बताउनुभयो । रोगी पशुसँग प्रत्यक्ष सम्पर्क भएमा, लसपस भएको आहारा, पानी र घाँसलगायतको माध्यमबाट फैलने हुँदा रोगी बाख्रालाई अलग्गै उपचार र दाना पानी दिनुपर्ने उहाँ बताउनुहुन्छ । रोगको सङ्क्रमण हुँदा ज्वरो आउने, घाँसपात नखाने, गिजा, जिब्रो तथा मुखभित्र भागहरूमा घाउहरू देखिने, आँखामा कचेरा पर्ने, नाकबाट बाक्लो सिँगान बग्ने, छेरौटी लाग्ने लक्षण देखिएको केन्द्रले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?