शब्दः यलु जाेशी, तस्बिरः सुजन गुरुङ/कविता थापा
काठमाडौँ, भदौ ५ गते । रातो सारी, चुरा पोतो र श्रृङ्गारमा सजिएर विभिन्न शिवालयमा छमछमी नाच्न पाउँदा वर्षभरिको पीडा बिर्सिने महिलाहरूको यो वर्ष तीज भने खल्लो भएको छ । हिन्दू महिलाहरूको मुख्य पर्व रुपमा लिइने तीजमा विश्वभरि फैलिएको कोरोना भाइरसको कारण विगतमा जस्तो रौनक छैन । तीजको दिन सधैँ भीडभाड, चहलपहल, नाचगान देखिने पशुपति क्षेत्र शुक्रबार सुनसान देखिएको छ ।
हजारौँ सङ्ख्यामा देखिने पशुपतिमा बिहान १० देखि १५ जना भक्तजनहरू आउनुभएको थियो । प्रहरी जवान केशव विश्वकर्माले सरकारले निषेधाज्ञा जारी गरेपछि तीज विषेश कार्यक्रम भएपनि मन्दिरमा भक्तजन नआउनु भएको जानकारी दिँदै भन्नुभयो, 'सरकारको आदेशलाई सबैले पालना गर्नुभएको छ ।' उहाँले केही दिदीबहिनी मन्दिरमा पूजा गर्न आउनुभएकाहरूलाई नआउन र घरकै मन्दिरमा पूजा गर्न रमाइलो गर्न अनुरोध गर्नुभएको बताउनुभयो ।
तीज अवसरमा मन्दिर पूर्ण रुपमा बन्द भएकोले स्थानीय केही महिलाहरू बागमती किनारको बगरमा पूजाआजा गरी फर्किनुभएको प्रष्ट पार्नुभयो । पशुपति क्षेत्र आसपासकै महिलाहरू भने दर्शनका लागि आउनुभएको थियो । तिलगङ्गा पूजाको लागि पशुपति आउनुभएको अस्मिता थापा आफू नजिकको भएर आएको जानकारी दिनुभयो । तीजको दिनमा शिव भगवानलाई पूजा गर्नुपर्ने मान्यता भएकोले आएको बताउनुभयो ।
मन्दिर नखुलेकाले केहीले ढोकैबाट दर्शन गरेर फर्किएका छन् । बागमती किनारमै पूजाआजा गरिरहनुभएको तिलगङ्गाकै इच्छा दङ्गाले मन्दिर भित्रनै पूजा गर्नुभन्दा पनि पूजा गर्ने महोत्वपूर्ण हो । उहाँले कोरोना महामारीमा बाहिर निस्कनु मुर्खता भएपनि आफूनजिक भएकोले पूजा गर्न आएको बताउनुभयो । घर अगाडिको शिवालय भनेको पशुपति भएकोले स्वास्थ्य सुरक्षा र सामाजिक दूरी कायम गरेको पनि दङगालले बताउनुभयो ।
कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले उपत्यकामा बुधबार मध्यरातदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले यस पटकको तीज धेरैले घरमै मनाउनुपर्ने भएको छ । निषेधाज्ञा जारी नभएको भए सम्भवतः आज बिहानैदेखि पशुपति क्षेत्रमा महादेवको पूजा गर्दै तीज मनाउन पुग्नेहरूको भीड लाग्थ्यो प्रहरी जवान विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कोरोना भाइरसको महामारीका कारण यो वर्ष पशुपतिनाथ मन्दिरका ढोका खोलिएन । यसपटक पशुपति क्षेत्र सुनसान देखियो ।
हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो किमबन्दी रहेको छ । भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा(मीठा परिकार खाने चलन छ । नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा महिलाहरू सजिने गर्छन् ।
यसअघिका वर्षहरूमा काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरहरूमा ठूलो घुइँचो र पूजाआजा लाग्ने गथ्र्यो ।