यलु जोशी
भक्तपुर, भदौ ६ गते । ‘जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा छ । बोलीचालीको भाषामा यस दिनलाई गणेश चौथी भन्ने गरिन्छ । भाद्र शुक्ल चतुर्थीको अवसरमा शनिबार बिहानै घर चोख्याएर दुबो, लड्डु र मुलासहित भगवान् गणेशजीको पूजा गरिन्छ ।
साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा, केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ ।
संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादको रूपमा खाने चलन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, नेवार समुदायमा गणेश चौथीमा चन्द्रमाको पूजा गर्ने विषयमा दुई मान्यता छ । एकथरी चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोका लगाउँछन् र लुकेर पूजा गर्छन् । अर्काथरी घरको आँगनमा सदस्य जम्मा भएर बस्छन् । चन्द्रमा देखा परेपछि पूजा गरी प्रसाद खाएर मात्र भित्र पस्छन् ।
डा. श्रेष्ठका अनुसार, चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रूपरङ्ग अस्थायी र गौण हुने तथा उसको राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देशसमेत दिने हो ।
गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दसैँ भित्राउने चाडको रूपमा समेत लिने गरेको उहाँले बताउनुभयो । दसैँको प्रारम्भ पर्वको रूपमा लिने भएकाले नेवार समुदायले यसै दिन मासु भित्र्याउने समेत गर्दछन् । नेवार समुदायमा चथाः पर्व राम्रो भए दसैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । आजकै दिन भक्तपुरका किसानहरूले आ–आफ्ना अदुवा खेतीको पूजा गर्ने प्रचलन छ ।
पौराणिक कथनअनुसार चन्द्रमाले गणेशलाई हात्तीटाउके मुख भएको भन्दै जिस्क्याएपछि गणेशले रिसाएर चन्द्रमालाई ‘तिम्रो मुख हेर्ने चोरीको दोष लागोस्’ भन्ने श्राप दिए । त्यो दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोरीको दोष लाग्न थाल्यो । त्यसपछि सबैले चन्द्रमाको मुख हेर्न छोडे । गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोरीको दोष नलाग्ने वरदान दिएकाले यो दिन साँझमा चन्द्रमाको पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ । यस दिन कहीँ कतै गएर केही चोरे पनि आरोप नलाग्नेसमेत मान्यता छ ।