गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । बिरगंज महानगरपालिकाका मेयर विजय सरावगी कोरोनामुक्त हुनुभएको छ । गत् साउन १४ गते कोभिड–१९ बाट सङ्क्रमित हुनुभएका मेयर सरावगी २५ दिनपछि कोरोनामुक्त हुनुभएको हो ।
सरावगीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जानकारी साझा गर्नुहुँदै बिरगंजस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा आफ्नो रिपोर्ट निगेटिभ आएको जानकारी गराउनुभएको छ । उहाँले सङ्क्रमण सक्रिय रहेको अवस्थामा आफू १२ दिन सघन उपचार कक्षमा बसेको उल्लेख गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सङ्क्रमित भएको अवस्थामा राष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पूर्ब प्रधानमन्त्री ज्यूहरु, नागरिक समाज, सञ्चारकर्मी, प्रतिनिधिसभा सदस्य, महानगरका प्रमुख, कर्मचारी, शुभेच्छुक तथा बिरगंज नगरबासीले स्वास्थ्य सुधारका लागि दिनुभएको शुभकामनाप्रति आभार प्रकट गर्दछु ।”उहाँले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
कोभिड–१९ बाट बिरगंज महानगरका प्रमुख सरावगीसँगै उहाँका बुवा तथा परिवारका अन्य सदस्यहरु समेत सङ्क्रमित हुनुभएको थियो । परिवारका सदस्यहरु यसअघि नै सङ्क्रमणमुक्त भएका छन् । उहाँले बुवा अझै उपचारकै क्रममा रहनुभएको र उहाँको स्वास्थ्य स्थितिमा सुधार नआएको जानकारी दिनुभएको छ । प्रमुख सरावगीका बुवा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा अति सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।
प्रमुख सरावगीले कोरोनबाट बच्न र अरुलाई बचाउन नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबै जनामा आग्रह गर्नुभएको छ । उहाँले कोरोनामुक्त भएको अवस्थामा आफू निरन्तर र सक्रिय रुपमा महानगरलाई ‘ग्रीन जोन’मा ल्याउन प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।