logo
२०८१ मंसिर १३ बिहीवार

  सन्दर्भ: बेपत्ता विरुद्धको अन्तर्राष्टिय दिवस  



बेपत्ताका परिवारको गुनासोः सबैको हेला, न न्याय न सम्मान

समाज |


बेपत्ताका परिवारको गुनासोः सबैको हेला, न न्याय न सम्मान


मुकुन्द सुवेदी
बर्दिया, भदौ १४ गते । द्वन्द्व अवधिका पीडादायक घटनाको व्यवस्थापनमा राज्यले बेवास्ता गर्दा बेपत्ता परिवारका महिलाहरू पीडितमाथि पीडित बनेका छन् । तत्कालीन सशस्त्र द्वन्द्वमा आफ्ना पति गुमाएका अधिकांश महिलाहरू अहिले परिवार र समाजबाट थप पीडित बनेका हुन् ।
पति बेपत्ता भएका महिलाहरूलाई घरपरिवार तथा समाजबाट अन्तिम संस्कार (काजक्रिया) गर्न दबाब दिने र काजक्रिया नगरेकै कारण पारिवारिक र सामाजिक रुपमा एक्ल्याउने क्रम बढ्दो छ ।

पति बेपत्ता पारिएका महिलाहरूले न्याय पाउन सकेका त छैनन् नै, पारिवारिक र सामाजिक सम्बन्धसमेत बिग्रिएर एक्लिएका छन् । परिवारबाटै निरन्तर दबाब आएपनि त्यस्ता महिलाहरू पीडा मनमै लुकाएर बस्ने गरेका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ८ सुतैयाकी ४६ वर्षीया जयन्ती शाही त्यस्तै मध्येकी एक हुनुहुन्छ । उहाँले श्रीमान पर्खेको वर्षौँ भइसक्यो । २०५८ साल चैत्र २४ गतेका दिन सेनाले बेपत्ता पारेको भनिएका उहाँका पति हुकुमबहादुर शाहीको अवस्था अझै अज्ञात छ । बेपत्ता आफ्ना श्रीमानको पीडा त उहाँमा छदैँछ, घरपरिवारले अन्तिम संस्कारका लागि निरन्तर दिएको दबाबले झनै पीडा थपिदिएको छ ।

जयन्तीले भन्नुभयो, ‘सरकारले दिएको राहत रकम बुझेपछि पनि काजक्रिया (मृत्यु संस्कार) किन नगरेको भन्दै आफ्नै घरपरिवारबाट बारम्बार दबाब र लाञ्छना भोग्दै आएकी छु । अब सरकारले कि मेरा श्रीमान् देखाउन पर्यो ? कि काजक्रिया गर भन्नु पर्यो ।’ बेपत्ता भएको २० वर्ष पुग्न लागेको र अब श्रीमान् ज्यूँदै फर्किन नसक्ने भन्दै घरपरिवारबाटै काजक्रियाको अन्तिम संस्कार गर्न उहाँलाई बारबार दबाब आइरहेको छ ।

बेपत्ता पतिको अन्तिम संस्कार नगरेकै कारण परिवारबाट विभेद र लाञ्छना खेप्न बाध्य जयन्ती जस्ता बेपत्ता परिवारका धेरै महिलाहरू छन् । राजापुर नगरपालिका वडा नं. ६ महुवाकी ३८ वर्षीया बेली थारुका श्रीमान फक्लु थारुलाई २०५९ साल कार्तिक ७ गते बिहान स्थानीय बजारनजिकको बाटोमा हिँडिरहेको अवस्थामा नेपाली सेनासहितको सयुंक्त टोलीले बेपत्ता बनायो । श्रीमान् बेपत्ता भएदेखि बेलीका आँखा अहिलेसम्म ओभाएका छैनन् । श्रीमान फर्किने आशमा बसिरहनुभएको छ । तर, परिवारका सदस्यले मृत्यु संस्कारका लागि निरन्तर दबाब दिएपछि उहाँ पतिको मृत्यु संस्कारको तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सरकारले कुनै निर्णय दिएन । घरपरिवार र छरछिमेकले आफूलाई नराम्रो दृष्टिकोणबाट हेर्ने र अवहेलना गर्छन् । आफूले नचाहेरै पनि बेपत्ता पतिको मृत्यु संस्कार गर्न बाध्य छु ।’

आफ्ना पति बेपत्ता हुँदाको पीडा एकातिर छ भने अर्कातिर आफ्नै परिवारले दिने लान्छना र दबाब सहेर बस्न बाध्य महिलाहरूले न्याय पाउन सकेका छैनन् । ठाकुरबाबा नगरपालिका वडा नं. ४ बगनाहाकी ४४ बर्षीया पानु थारुका श्रीमान् धामु चौधरी २०५८ साल चैत २८ गतेबाट बेपत्ता हुनुहुन्छ । घरमै सुतिरहेको अवस्थामा उहाँलाई सेनाले बेपत्ता बनाएको हो । पति बेपत्ता भएदेखि पानुको पारिवारिक र सामाजिक जीवन निकै कष्टकर बनेको छ । 'परिवारभित्रको समस्या न त बाहिर ल्याउन सकिने, न त सहन नै सकिने', उहाँले भन्नुभयो ।

बेपत्ता श्रीमान्को अवस्था अज्ञात रहेपछि अंशवण्डाका लागि मृत्यु दर्ता गर्न खोज्दा उहाँले झनै अपमानित हुनुपर्यो । ‘मृत्यु दर्ताको लागि वडा कार्यालय जाँदा जिल्ला प्रशासनको सिफारिस ल्याउ भन्छ । जिल्ला प्रशासनले सरकारबाट निर्णय भएको छैन भन्छ । अब म कहाँ जाने ?’ उहाँको गुनासो छ । श्रीमान् नहुँदाको पीडा भोग्नेलाई मात्र महसुस हुन्छ । पानुले भन्नुभयो, ‘न हामीले न्याय पायौँ, न सम्मान । आखिर हाम्रो पीडाको मूल्य छैन ।’

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले द्वन्द्वपीडितमध्ये पनि बेपत्ताहरूको बारेमा राज्यले अझैपनि न्याय महसुस हुने गरी सम्बोधन गर्न नसकेको बताउनुभयो । शान्ति सम्झौता भएको वर्षौँ बितिसक्दा पनि द्वन्द्वपीडितहरूको समस्या समाधानका लागि सरकारले कुनै ठोस कदम चाल्न नसक्नु दुखद रहेको अध्यक्ष चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, ‘सत्ता फेरियो, सरकार फेरियो तर पीडित परिवारको अवस्था भने उस्तै छ ।’

सशस्त्र द्वन्द्वको समयमा बर्दिया जिल्लाबाट सबैभन्दा बढी बेपत्ता भएका छन् । मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्था इन्सेकका अनुसार बर्दिया जिल्लाबाट २२३ जना बेपत्ता पारिएको तथ्याङ्क छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा बर्दियाबाट २६६ जना बेपत्ताको खोजीका लागि उजुरी परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?