logo
२०८१ मंसिर १४ शुक्रवार



केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा सङ्क्रमण

समाज |
फिचर |


केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा सङ्क्रमण


देवबहादुर कुँवर
काठमाडौँ, भदौ १४ गते । जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । ‘दुई जनालाई सात दिनमै निको भइसक्यो’ उहाँले भन्नुभयो, लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लैजाने र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।

केन्द्रीय कारागारमा तीन हजार २६३ जना कैदीबन्दी रहेका छन् । तीमध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानुपर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने जनाइएको छ । कारागार प्रमुख बास्कोटाले बिरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको बताउनुभयो । ‘सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौँ, तर पनि उपचारका लागि अस्पताल जानैपर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’ उहाँले थप्नुभयो ।

कारागार व्यवस्थापनले वाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउने जस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ । औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरिएको छ । ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तीनका आफन्तलगायत वाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ । स्वास्थ्य उपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेण्टाइन र त्यसपछि पीसीआर परीक्षण अनिवार्य गरेको छ ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता देवर्षि सापकोटाका अनुसार, उपत्यकाको नख्खु र डिल्लीबजार कारागारमा कोरोना सङ्क्रमण देखिएको छैन । नख्खुमा एक हजार ५६० कैदीबन्दी, १३० जना सुरक्षाकर्मी र कर्मचारी गरी करिब ७५० जना कर्मचारी छन् ।

त्यस्तै, डिल्लीबजार सदरखोर कारागारमा ५२१ कैन्दीबन्दी छन् । यहाँ उच्चतहका कैदीबन्दी बस्ने भएकाले अन्य कारागारको तुलनामा विशेष किसिमको सतर्कता अपनाइएको छ । कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीका लागि छुट्टाछट्टै स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाइएको छ ।
कारागारमा कोरोना सङ्क्रमण देखा परेपनि आवश्यक व्यवस्थापन तथा उपचारका लागि पूर्णतयारी गरिएको विभागले जनाएको छ । सुरक्षाकर्मीकै निगरानीमा सङ्क्रमित कैदीबन्दीलाई क्वारेण्टाइनमा राख्नेदेखि औषधि उपचारको व्यवस्था गरिएको छ ।

विभागका अनुसार, हालसम्म केन्द्रीय कारागारसहित सात वटामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये वीरगन्जमा ३३ जना, नेपालगन्जमा आठ, सिराहामा तीन, सुनसरीमा आठ, स्याङ्जामा एक र सिन्धुपाल्चोकमा दुई गरी ५५ जनामध्ये ४७ जना निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?