logo
२०८१ मंसिर १४ शुक्रवार



बागलुङमा ‘सक्नेले दिएर जाऔँ, नसक्नेले लिएर जाऔँ’ अभियान

समाज |


बागलुङमा ‘सक्नेले दिएर जाऔँ, नसक्नेले लिएर जाऔँ’ अभियान


नवीन शिशिर विक

बागलुङ, भदौ १५ गते । लामो समयको बन्दाबन्दी तथा निषेधाज्ञाको कारण बेरोजार मजदुर तथा विपन्न परिवारको भोको पेट भर्न बागलुङमा ‘‘सक्नेले दिएर जाऔँ, नसक्नेले लिएर जाऔँ’ अभियान सुरु भएको छ ।

कोरोना महामारीको कारण दैनिक जीविका सञ्चालनमा समस्या हुन थालेपछि मजदुर र विपन्न परिवारका सदस्यलाई लक्षित गरी लियो क्लब अफ बागलुङले हातेमालो अभियान सञ्चालन गरेको हो ।

अभियानमा प्रतिव्यक्ति तीन किलो चामल, एक पोका नुन, एक पोका तेल, आधा किलो दाल गरी करिब ३६० रुपियाँको प्याकेज तयार गरेको अभियानका संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जीप पार्कमा सञ्चालन गरेको फुड सेन्टरबाट आइतबार ५६ र लोकतान्त्रिक चोकबाट सोमबार ३६ जनाले खाद्यान्न लिएर गएको संयोजक घिमिरेको भनाइ छ । अभियान सञ्चालनको लागि बागलुङ बजारको कँडेल सप्लायर्सका सञ्चालकले सुरुवाती खाद्यान्न सहयोग गर्नुभएको थियो ।

केही दाताबाट खाद्यान्न सामग्री सङ्कलन सुरु गरिएको अभियानमा स्वतःस्फूर्त सहयोग दिने क्रम उत्साहजनक रहेको क्लबका अध्यक्ष सन्देश बोगटीले बताउनुभयो । ‘हामीले पवित्र उद्देश्यका साथ काम थालेका छौँ’ उहाँले भन्नुभयो, ‘कसैको व्यक्तिगत प्रचारभन्दा पनि आवश्यकता आधारमा हामीले अभियानलाई अगाडि बढाउँछौँ ।

एक पटक खाद्यान्न लगेको परिवारले चार दिनपछि मात्र अर्काे राहत लिन पाउनेछन् । अभियान बिहान ८ बजेदेखि ११ र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

बागलुङमा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेपछि विशेष गरी अनौपचारिक क्षेत्रका मजदुर, दैनिक ज्यालादारी मजदुर तथा रिक्सा चालक मजदुर मारमा परेका छन् । बन्दाबन्दीको अन्त्य नभएसम्म अभियान जारी रहने संयोजक घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?