logo
२०८१ मंसिर १५ शनिवार



पाँच दिनदेखि सुत्केरी व्यथाले च्यापेकी महिलाको उद्धार

समाज |


पाँच दिनदेखि सुत्केरी व्यथाले च्यापेकी महिलाको उद्धार
सांकेतिक तस्बिर


बेलिना थापा

लमजुङ, कात्तिक २१ गते । लामो समयसम्म सुत्केरी व्यथाले च्योेपकी हिमाली जिल्ला मनाङकी एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएकाे छ ।

५ दिनसम्म सुत्केरी व्यथाले च्यापेकी नासों गाउँपालिका ६ तिल्चेकी ३२ बर्षीया जमुना गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको हो । धेरै समय सुत्केरी तथा प्रसव व्यथाले च्यापेको र जटिल अवस्था आएपछि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले बताउनुभयो । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन पुगकी उनलाई जटिल स्वास्थ्य समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘केही दिनदेखि सुत्केरी व्यथाले च्यापेको रहेछ । हामीलाई बिहीबार मात्र खबर आयो । यहाँ उपचार सम्भव नहुने भएपछि सामाजिक विकास मन्त्रालयमा खबर ग-यौं । हेलिकप्टरमार्फत पोखरा पठायौं ।’

बिहीबार विहान हेलिकप्टरमार्फत गर्भवतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) पोखरा लगिएको छ । राति ११ बजे सुरक्षित सुत्केरी भएको, आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी आएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीनाथ आचार्यका अनुसार १२ घण्टा बढी सुत्केरी व्यथा लागेमा यसलाई लामो व्यथा भनिन्छ । यसले महिलाको स्वास्थ्यमा समस्या ल्याउने गर्छ । ती महिलालाई १२ घण्टाभन्दा बढी समय व्यथा लागेपछि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर पोखरा पठाइएको उहाँले बताउनुभयो । मन्त्रालयले सञ्चालन गरेको हिमाली जिल्ला लक्षित आमा सुरक्षा कार्यक्रम अन्तर्गत उद्धार भएको हो । जिल्ला अस्पतालमा ल्याउँदा धेरै समय लाग्ने र आमाको ज्यान पनि जान सक्ने जोखिमलाई मध्यनजर गर्दै हेलिकप्टर मगाएको उहाँले बताउनुभयो । महिलाको सुत्केरी हुने दिन कात्तिक २२ गते  थियो ।

स्थानीय चेकमान गुरुङका अनुसार सुत्केरी व्यथाले च्यापेकी महिलालाई सामुदायिक स्वास्थ्य एकाई तिल्चेमा लगिएको थियो । त्यहाँ, स्वास्थ्य सामाग्री र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण सुत्केरी गराउन सम्भव नभएको र उद्धार गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । जमुनाकी श्रीमान टीकाजङ गुरुङका अनुसार श्रीमतीलाई कात्तिक १६ गते विहानदेखि व्यथा लागेको थियो । केही समय चाप्ने र केही समय सन्चो हुने गथ्र्यो । ‘१६ गतेदेखि व्यथा लागेको हो । तत्काल व्यथाले च्याप्ने र केही समयपछि सन्चो हुने भयो । त्यति गाह्रो नभएपछि स्वास्थ्य संस्था लगिएन’ उहाँले भन्नुभयो, ‘५ दिन हुँदा पनि बच्चा जन्माउन सकेन । बिहीबार त झन च्यापेपछि डराउँदै स्वास्थ्य एकाईमा लगें । यहाँ सकिँदैन भनेपछि कुरालाई माथिसम्म पु¥याइयो । पोखरा लगियो । बच्चा जन्मिएको छ । राम्रो भएको छ ।’

यसअघि एक छोरी रहेको जमुनाले बिहीबार राति अर्को छोरी जन्माएकी छिन् । श्रीमती र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘श्रीमतीलाई यहीं राखे के हुन्थ्यो खोई । सबैको सहयोगले हेलिकप्टरमार्फत उद्धार भयो । बुढी र छोरीको ज्यान बचाउन सक्यौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?