logo
२०८१ मंसिर १४ शुक्रवार



बाजुरामा छाउगोठ भत्काइएपछि धेरै महिला घरमा, केही बाँकी

समाज |


बाजुरामा छाउगोठ भत्काइएपछि धेरै महिला घरमा, केही बाँकी


शेरबहादुर सार्की
बाजुरा, कात्तिक २४ गते । महिनावारी भएको समयमा सधै छाउगोठमा सुत्दै आएका बाजुराका अधिकाशं महिला यती बेला आफ्नै घरको कोठामा बस्न थालेका छन् ।

२०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुइ छोरा सहित तीन जनाको ज्यान गएको थियो ।

यो घटना भएसँगै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुराका छाउगोठ भत्काउने अभियान सुरु भएपछि महिनावारी भएका बेला अहिले महिला आआफ्नै घरको कोठामा सुत्न थालेका हुन् ।

२०७५÷७६ सालमा १६८ र २०७६ ÷०७७ सालमा ३४३ गरी जम्मा ५११ वटा छाउँगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी ,स्थानीय र जनप्रतीनीधिहरुलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि बाजुरामा ५११ वटा छाउगोठ भेटिएका थिए ।

छाउगोठमा सुतेको बेला आगोले निसासिएर बुडीनन्दा नगरपालिका –९ का ३५ वर्षीय आमा अम्बा बोहोरा र उनका १२ वर्षीय छोरा सुरेश र ९ वर्षीय छोरा रमित बोहोरा सहित तीन जनाको ज्यान गएको भएपनि बाजुरामा महिलाले महिनावारी भएको समय छाउगोठ सुत्दा कुनै पुरुषबाट बलात्कृत तथा जङ्गली जनावरबाट आक्रमण घटना नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्र सिहं ठगुन्नाले बताउनभयो ।

अधिकाशं जनप्रतिनीधि समेत अहिले आ आफ्नो स्थानीय तहमा महिलाहरुलाई महिनावारी भएको समयमा घरमै सुताउने अभियानमा लागि परेका छन् ।
महिनावारी भएका बेला घरमा सुतेपछि देउता रिसाउँने डरले आफू छाउगोठमा सुत्ने गरेकी थिए, अहिले तयो छाउगोठ भत्काइदिएपछि अहिले घरकै कोठामा बस्ने गरेको बूढीगङ्गा नगरपालिका –४ का सरीता कटुवालले बताउनुभयो ।
जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले भन्नुभयो, हिमाली गाउँपालिकामा रहेका झण्डै २५ वटा छाउँगोठ भत्काएपछि अहिले गाउँमा छाउँगोठ छैन्न ।
उहाँले भन्नुभयो, दही मही जस्ता पोष्टीक खानेकुरा अँझै दिने गरेको नभए पनि महिनावारी भएको समयमा भने महिलालाई घरकै कोठामा सुत्न दिएका छन् ।
बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले भन्नुभयो, बडिमालिका नगरपालिकामा रहेका २१ वटा छाउगोठ भत्काएपछि अहिले याहाँका सबै महिला महिनावारी भएको समय घरमै बस्न थालेका छन् ।
त्रिवेणी नगरपालिकामा रहेका २७ वटा छाउँगोठ भत्काएपछि महिनावारी भएको बेलामा महिला घरकै कोठामा सुत्ने गरेको नगर प्रमुख रामसिह रावलले बताउनुभयो ।
त्यसै गरी ,जगनाथमा गाउँपालिकामा १ वटा स्वामिकार्तिकमा २३ वटा, छाउगोठ भत्काएपछि त्याहाँका महिला पनि महिनावारी भएको समयमा घरमै सुत्ने गरेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको सबै भन्दाबढी छाउगोठ बुढीगङ्गा नगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
प्रहरी स्थानीय र जनप्रतिनिधिको रोहवरमा झण्डै ५७ वटा छाउगोठ भत्काएपनि केही मात्रमा अँझै छाउगोठ रहेको स्थानीय राजेन्द्र रावलले बताउनुभयो ।
छाउगोठ नभत्काउने र महिनावारी भएको बेलामा गोठमै सुत्ने गरेको पाइएमा सरकारी सेवा सुविधा रोक्का गर्ने भनिएको भए पनि अहिले सम्म कुनै पनि कारवाही नुहँदा केही महिलाहरु महिनावारी भएको समयमा छाउगोठमै सुत्ने गरेको रावलको भनाइ छ ।
जिल्लाका अन्य स्थानीय तहका महिलाहरुले सरकारको नीतिनियम पालना गर्दै आएको भए पनि धामी झाँक्रीको मातहतमा रहेका याहाँका केही महिलाले अँझै पनि छाउगोठमा सुत्ने गरेको पाइएकोले उनीहरुलाई आवश्यक कारवाही प्रकृया अगाढी बढाइएको बुढीगङ्गा नगरपालिका १० का वडा अध्यक्ष धर्मराज जैशीले बताउनुभयो ।
स्थानीय तहका केही गाउँमा धामीझाँक्रीका कारण महिलाहरु अँझै घरमा सुत्न नमानेको र उनीहरु छाउगोठमा सुत्ने गरेका छन् ।

प्रहरी, जनप्रतिनीधि र स्थानीय अगुवाहरु छाउगोठ भएको घरमा पुगेर नीतिगतरुपमा भत्काउने अभियान गरेपछि अहिले बाजुरामा छाउगोठको सङ्ख्यामा कमी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, अँझै केही महिलाहरु महिनावारी भएका समयमा घरमा नसुतेर छाउँगोठमा सुतेको जानकारी आएमा उनीहरुले पाउने सेवा सुविधा रोक्का गर्नुका साथै आवश्यक कानुनी कारवाहीको प्रक्रियालाइ अगाढी बढाइने योजना रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?