logo
२०८१ मंसिर १४ शुक्रवार



कर्मकाण्डमा सीमित चर्चित ‘छापो खन्ने पर्व’

समाज |


कर्मकाण्डमा सीमित चर्चित ‘छापो खन्ने पर्व’


नवीन शिशिर विक
बागलुङ, कात्तिक २८ गते । बागलुङको ताराखोला गाउँपालिका क्षेत्रका मगर समुदायले हरेक वर्ष धुमधामका साथ मनाउने छापो खन्ने पर्व यसवर्ष भने कर्मकाण्डमा सीमित भएको छ ।
सामुहिक रुपमा निकै धुमधामको साथ मनाईने पर्व कोरोना संक्रमण त्रासको कारण ताराखोला क्षेत्रका सीमित व्यक्तिको उपस्थितिमा पर्वको परम्परागत कर्म पूरा गरी समापन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङको सबै प्रकारमा मेला महोत्सव तथा सामूहिक भेला निषेध गरेको छ । ताराखोला गाउापालिका–२ अर्गलमा मनाईने उक्त पर्व भुस पोल्ने मेलाको रुपमा चर्चित छ ।
ताराखोला क्षेत्रको अमरभूमी, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्र्तिक २४ गते भुस पौल्ने र शंखुवारी खन्ने, २५ गते पितृकार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने गर्छन् । स्थानीय बुढापाकाले बारीमा जौ छरेपछि युवायुवतीले बारी खन्ने गर्छन ।
कात्र्तिक २४ गते अर्गलको शंखुवारीमा आगो बालेको धुँवा देखेपछि हिल र हिलको धुँवा देखेपछि ताराखोलामा भुस पोल्ने चलन रहेको अर्गलका शिक्षक सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो । भुसको रुपमा वर्खेबाली मकै, कोदोको डाँड पोल्ने गरिन्छ ।
शिक्षक घर्तीका अनुसार २६ गते साँझ डाँडामाथि घाम पुग्दा अर्गल, रातको १२ बजेतिर हिल र २७ गते बिहान मात्र ताराखोलामा छापो खन्ने चलन छ । मगर समुदाय शिकारी युगदेखि कृषियुगको प्रवेश गरेको सम्झनामा पर्व मनाउने चलन गरेको घर्तीले बताउनुभयो ।
विगतमा ताराखोला क्षेत्रका मगर समुदायले कात्र्तिक २६ गतेलाई बर्खी फाल्ने (पितृको दुःख) दिनको रुपमा मनाउने गर्थे । पढे लेखेको युवा पुस्ता बर्खी फाल्नकै लागि वर्षभरी घर बस्न नसक्ने र रोजगारीको सिलसिलामा घर बाहिर रहेको व्यक्ति उक्त दिन घर आउन नसक्ने जस्ता व्यवहारिक समस्यालाई ध्यानमा राखेर शोकमा परेको परिवारले आफ्नो इच्छा अनुसार हरेक महिनाको २६ गते दुःख फाल्न सक्ने गरी संस्कारमा परिवर्तन गरिएको छ ।
छापो खन्न अविवाहिक युवायुती सहभागी हुने चलन छ । युवाहरुलाई कृषिमा आकर्षित गर्नुका साथै परिवारी जिम्मेवारीको लागि परिपक्क भएको अनुभूति गराउनको लागि उनीहरुकै सहभागी अनिवार्य हुने शिक्षक घर्तीले बताउनुभयो ।
२४ गते भुस पोल्ने, २५ गते पितृ पूजा, २६ गते छापो खन्ने, मारुनी र सोरठी नाचका साथ उक्त पर्व समापन हुन्छ । यस वर्ष पाहुना नडाकी पर्वको समापन गरिएको छ । २७ गतेदेखि सुरु हुने पुत्र पढाई कार्यक्रम पनि कोरोना त्रासका कारण रोकिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?