दीपकप्रसाद गौतम
वीरगञ्ज, पुस १ गते । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा करिब ८ कठ्ठा १५ धुरमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ । गाँजा लगाइएको खेतमा काम गर्दै गरेका एकजनालाई पक्राउ गरेको छ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहाका ६० वर्षीय कमल चौधरीलाई प्रहरीले गाँजाखेतीमा गोडमेल गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ । चौधरीले ३ कठ्ठा जमिनमा गाँजा खेती गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गर्नुको साथै गाँजा गोडमेल गर्दै गरेका चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जानकारी दिनुभयो ।
प्रहरी टोलीले पर्साको सखुवाप्रसौनी गाउँपालिकाको जमुनियामा ३ कट्ठा, औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिकामा ७ धुर गरी जम्मा ८ कट्ठा १५ धुर जग्गामा लगाएको गाँज खेती नष्ट गरेको छ । करिब दुई हजार ५ सय बोट गाँजा फाँडेर नष्ट गरेको बताइएको छ । स्थानीयले खेतलाई तारबार गरेर बाहिरबाट सहजै नदेखिने गरी गाँजा लगाउने गरेको पाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक थापाले बताउनुभयो ।