logo
२०८२ भाद्र ७ शनिवार



गाउँघरमा हराउँदै जाँतोको प्रयोग, परम्परागत पेशा संकटमा

समाज |


गाउँघरमा हराउँदै जाँतोको प्रयोग, परम्परागत पेशा संकटमा


सञ्जयकुमार मिश्र
गौर, पुस ९ गते । रौतहटको गाउँघरतिर मिल र आधुनिक मेसिनहरु सञ्चालनमा आएपछि जाँतो बनाएर जीविकाेपार्जन गर्नेहरुको पेशा संकटमा परेको हो ।
गाउँघरमा मिल र आधुनिक मेसिन संचालनमा आएपछि जाँतो प्रयोगमा ल्याउनेहरुको संख्या घट्यो र विस्तारै यस पेशामा लागेकाहरुको अवस्था खस्कँदैछ । कुनै बेला जाँतो नभएको घरै हुँदैनथ्यो ।
जाँतो नभएको घर गहना नलगाएकी बुहारी जस्तो देखिन्छ भन्ने उखान थियो । तर अहिले घरको जाँतो पनि गाउँघरमा प्रयोगमा ल्याउन छाडिएको छ । कुटानी पिसानीका लागि मिल र सुधारिएको घट्ट तथा विभिन्न खाले मिक्चर मेसिनहरु सञ्चालनमा आएपछि यस्तो अवस्था आएको हो ।
कुटानी पिसानीका लागि उपयुक्त मानिए पनि धार्मिक शुभकार्यहरुमा ढिकी, जाँतो, ओखलमा पिसिएको चामल, गहँु, दाल शुद्ध मानिन्छ । मिलमा कुटानी पिसानी गरिएको अनाजको प्रोटिन कार्बाेहाइड्रेड, खनिज पदार्थ तथा पौष्टिक तत्व नष्ट हुनुका साथै वातावरणीय दृष्टिकोणले मिल उपयुक्त नमानिए पनि यस बेला जिल्लाका अधिकांश घरमा जाँतोको सट्टा मिल र घरबाटै कुटानी पिसानी गर्ने हुनाले जाँतोको विक्रीमा कमी आएको जाँतो बनाई जीवनयापन गर्दै आइरहेका देवकुमार थैबले बताउनुभयो ।
जाँतो बनाउने ढुङ्गा नपाइनु र ढुङ्गा खोजेर बल्लतल्ल बनाइएको जाँतोले बजारभाउ पाउन छोडेपछि परिवारको भरणपोषण गर्न कठिनाइ भइरहेको जाँतो व्यवसायी कोशिलादेवी थैव बताउनुहुन्छ । उहाँका अनुसार धेरै मिहिनेत गरेर बनाइएको जाँतोको मूल्य पाउन छाडेपछि यस पेशामा लागेका अधिकांश व्यवसायी अन्य पेशामा लागेका छन् ।
त्यस्तै, सन्तोष थैवका अनुसार अत्याधिक परिश्रम गरेर बनाइएको जाँतो खच्चरमा लाँदेर गाउँ गाउँमा घुमेर विक्री गर्दा ग्राहकहरुले मोलतोल गरेर खरिद नगर्ने तथा एकादुका खरिद गर्ने भए पनि कम मूल्य दिने गरेका कारण दिनभरिकाे पारिश्रमिक समेत उपर हँुदैन ।विज्ञान प्रविधिको विकासले गर्दा गाउँघरबाट ढिकी, जाँतो, ओखलहरु क्रमशः हराउँदै जान थालेका छन् । यही अवस्था रहे ढिकी, जाँतो, ओखल संग्रहालयमा मात्रै सीमित रहनुका साथै युवाले यसलाई नमूनाको रुपमा हेर्नेछन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?